अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुरका कांग्रेस कार्यकर्ताले स्वतन्त्र अभियानका लागि भन्दै घोषणा गरे सामूहिक राजीनामा

भरतपुरका कांग्रेस कार्यकर्ताले स्वतन्त्र अभियानका लागि भन्दै घोषणा गरे सामूहिक राजीनामा


चितवन – पार्टी माओवादीकरण भएको भन्दै पूर्व सभापतिसहित भरतपुरका ५० जना कांग्रेसका नेताले सामूहिक राजिनामा दिएका छन् ।

भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी उनीहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

स्थानीय प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको हो । पूर्व वडाअध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजिनामा दिएको कँडेलले बताउनु भयो ।

पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उहाँले आरोप लगाउनु भयो । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ । उनीहरुले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् । उनिहरुले पार्टी गठबन्धनका नाममा माओवादीकरण भएको आरोप लगाएका छन् ।

सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन्। जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन्। 

शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले आइतबार बस्ने गठबन्धनको बैठकले महानगरका मेयरको नाम टुंग्याउने दाबी गरेका थिए। 

चितवनका गठबन्धनमा रहेका दलहरूको जिल्ला स्तरीय संयन्त्रको बैठक पनि आज साँझ बस्दैछ। उक्त बैठकमा महानगरकै विषयमा छलफल हुने एक नेताले बताउनु भयो ।