अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाकै गृहजिल्लामा गठबन्धनबीच मिलेन भागबन्डा

देउवाकै गृहजिल्लामा गठबन्धनबीच मिलेन भागबन्डा


डडेल्धुरा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सत्ता गठबन्धनका दलबीच स्थानीय तहको उम्मेदवारीमा भागबन्डाको विषय पेचिलो बनेको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलले डडेल्धुरामा सिट बाँडफाँट गर्न सकेका छैनन् ।

सत्ता गठबन्धनभित्रका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको आआफ्नै अडानले सहमति हुन अवस्था छैन ।

दुई नगरपालिका र पाँच गाउँपालिका गरेर कूल सातवटा स्थानीय तह रहेको डडेल्धुरामा सत्ता साझेदार माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ स्थानीय तहमा आफूले उम्मेदवार उठाउन पाउनुपर्ने दाबी गरिरहेका छन् ।

२०७४ सालको चुनावमा चार स्थानीय तहमा प्रमुख–उपप्रमुख जितेको नेपाली कांग्रेस भने माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ती क्षेत्र नछाड्ने भनिरहेको छ।

सातमध्ये पाँच स्थानीय तह नेपाली कांग्रेसले राख्ने डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराज जोशीले बताउनु भयो । ‘डडेल्धुरा कांग्रेसको गढ हो। त्यसैले उहाँहरूले मागेजति दिन सक्ने सम्भावना छैन’, जोशीले भन्नुभयो, ‘जितेका ५ स्थानीय तह हामी राख्छौं।’

डडेल्धुरामा माओवादी केन्द्रले तीन स्थानीय तहमा दाबी गरेको छ। आसन्न स्थानीय तहको चुनावमा झिनो मतान्तरले हारेका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको नेतृत्व यसपटक माओवादी केन्द्रले नछाड्ने जिकिर गरिरहेको छ।

नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तहको प्रमुखमा दाबी गरेको उक्त पार्टीका डडेल्धुरा जिल्ला अध्यक्ष तारा जोशीले बताउनु भयो । ‘नवदुर्गा, आलिताल, गन्यापधुरा र अमरगढीमा उपस्थिति बलियो छ’, उहाँले भन्नुभयो, ‘तीमध्ये दुई ठाउँको नेतृत्वमा दाबी हो।’