काठमाडौं- कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ ।
शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलेको जस्तै एसईई सञ्चालन हुने बोर्डले जनाएको छ ।
परीक्षामा देशभरका ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन् ।
एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुनेछन् ।
नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले बताउनुभयो ।
प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थीले पनि एसईई दिँदै छन् ।
प्रतिक्रिया