बझाङ – नेकपा (एमाले)ले बझाङको जयपृथ्वी नगरपालिकाको प्रमुख पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
नगरपालिकाको प्रमुख पदका लागि एमाले जिल्ला कमिटी सहसचिव सुरतबहादुर सिंह, हाल नगरको उपप्रमुख जुना जाग्री र जयपृथ्वी नगरपालिका-७ का वर्तमान वडाध्यक्ष हरिचन्द्र जोशीको नाम सिफारिस गरिएको हो ।
एमाले जयपृथ्वी नगर कमिटीको सिफारिसको आधारमा जिल्ला कमिटीले तीनै जनाको नाम अन्तिम निर्णयका लागि सुदूरपश्चिम प्रदेश कमिटीमा पठाएको केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरले बताउनु भयो ।
नगरपालिकाको उपप्रमुख पदमा आकांक्षीको संख्या धेरै भएकाले सहमतिको प्रयास भइरहेको महरले बताउनु भयो । उपप्रमुख पदका लागि गंगा राना महर, जमुनाचन्द सिंह, सुनिता खड्का धामी, सरिता भण्डारी, सविता खड्का विष्ट, डबल खड्का आकांक्षी देखिएका छन् ।
यस्तै जयपृथ्वी नगरपालिका वडा–७ का वडाध्यक्षका उम्मेदवार पनि सर्वसम्मत चयन गरिएको एमालेले जनाएको छ । उक्त वडामा अमित महरलाई उठाउने निर्णय गरिएको हो । अन्य वडामा आकांक्षीको संख्या धेरै रहेकोले सहमतिको प्रयास भइरहेको जनाइएको छ ।
यो नगरपालिकामा २०७४ सालको चुनावमा एमालेले प्रमुख र उपप्रमुखसहित पाँचवटा वडा जितेको थियो । ११ वटा वडा रहेको नगरपालिकामा पाँच वडा नेपाली कांग्रेस र एउटा वडामा नेकपा माओवादी केन्द्रले जितेको थियो । कांग्रेस र माओवादी केन्द्र पनि नगर पालिकाका उम्मेदवार टुंग्याउन सघन छलफलमा रहेको नेताहरुले बताएका छन् ।







प्रतिक्रिया