काठमाडौ -गठबन्धनमा आफूलाई कम आाकेको भन्दै पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिनुभएको छ ।
स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेल बारे छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार्टी सचिवालय बैठकमा आइतबार सहभागी भएका थिए।
सचिवालय बैठकमा संयन्त्रको बैठकमा भएको छलफलको बारेमा जानकारी गराउँदै महानगरपालिकाको नेतृत्व नदिने गरी गठबन्धनका नेताले षड्यन्त्र गरिरहेको नेपाललाई बताएपछि उनले गठबन्धन छाड्ने चेतावनी दिएका खबर आजको राजधानी दैनिकले छापेको छ।
‘एक महानगरपालिकामा एकीकृत समाजवादीले मेयर नपाए चुनावी तालमेलको छलफलमा सहभागी नहुने जानकारी अध्यक्ष कमरेडलाई उहाँ भुसाल र पौडेलले गराउनुभयो,’ सचिवालय बैठकमा सहभागी एक सदस्यले भने, ‘त्यसपछि अध्यक्ष कमरेडले पनि एक महानगरमा नेतृत्व नपाए अब छलफलको कुनै आवश्यकता नभएको बताउनुभयो।’
एकीकृत समाजवादीलाई सम्मानजनक सिट नदिने संकेत पाएका अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिको अवमूल्यन नगर्न गठबन्धनकै अन्य दललाई चेतावनी दिएका थिए । अध्यक्ष नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको समेत गुनासो गर्दै आएका छन्।
नेपालले गठबन्धनभित्र सहमति हुन नसकेमा एक्लै लड्नुपर्नेगरी तयारी गर्न कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । गठबन्धन दलकै बीचमा सहमति हुन नसकेको अवस्थामा एक्लै चुनावमा होमिनुपर्ने बताउँदै उनले सोहीअनुसार तयारीमा जुट्न निर्देशन दिएका छन्।
अध्यक्ष नेपाल चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने अडानमा छन् । पोखरा महानगरमा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको नेपालको भनाइ छ ।







प्रतिक्रिया