अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार


इलाम – इलामको सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसका वडा सभापतिले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गर्न नसकिने घोषणा गरेका छन् । कांग्रेसको १४ वटै वडाको वडा सभापतिको बैठकले गठबन्धन गर्न नसकिने घोषणा गरेका हुन् ।

गठबन्धन कार्यान्वयन भएमा सूर्योदयको प्रमुख नेकपा एसले पाउने सम्भावना थियो । जिल्ला तहमा भइरहेको बैठकमा पनि नेकपा एसले सूर्योदयको प्रमुखमा दाबी गर्दै आएको थियो । नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदयमा नेकपा एसबाट रणबहादुर राई नै उम्मेदवार हुने चर्चा थियो । राई यसअघि नेकपा एमालेबाट नगरपालिकामा निर्वाचित भएका थिए ।

नेकपा एमाले विभाजन हुँदा राईसहित एमालेबाट निर्वाचित बहुसंख्यक जनप्रतिनिधि नेकपा एसमा गएका थिए । त्यसैले सूर्योदयमा नेकपा एसले प्रमुखमा दाबी गर्दै आएको थियो । तर, कांग्रेसका वडा सभापतिले गठबन्धन अस्वीकार गर्ने निर्णय गरेपछि सूर्योदय नगरपालिकामा गठबन्धन धरापमा पर्ने देखिएको छ ।

सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत रहेका वडा सभापति लेखनाथ खड्काको अध्यक्षतामा भएको बैठकले गठबन्धन नेपाली कांग्रेसका सदस्य तथा मतदाताको भावना विपरीत रहेको ठहर गरेको छ । वडा सभापतिहरूको बैठकले गठबन्धन भए सैद्धान्तिक र व्यवहारिक पक्षमा समेत समन्वय हुन नसक्ने, केन्द्रको निर्देशन अनुसार सूर्योदयमा गठबन्धन गर्न आवश्यकता र अवस्था समेत नरहेको वडा सभापतिहरूले निष्कर्ष निकालेका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुँने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय तहको निर्वाचनमा बढी सीट दाबी गरेको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टि सार्वजनिक गर्न थालेका छन् ।