भैरहवा – नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिनु भएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको आकांक्षी रहेका यादवले टिकट नपाउने भएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हो ।
स्थानीय तहको गत निर्वाचनमा सिद्धार्थनगरमा मेयर पदमा पराजित हुनुभएका उहाँले दोस्रोपटक पनि आकांक्षा देखाउनु भएको हो । एकलौटी रूपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोमा असुन्तष्टि व्यक्त गर्दै उहाँले राजीनामा दिनु भएको हो ।
यादवले राजीनामा पत्रमा मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि एकजनाको मात्र नाम सिफारिस गरिएकोमा उहाँले आपत्ति जनाउनु भएको छ ।
‘म ४० वर्षदेखि कांग्रेसमा आबद्ध छु, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो,’ उहाँले राजीनामा पत्रमा लेख्नु भएको छ ।
यादव संस्थापन इतर पक्षका हुन् । कांग्रेसले सिद्धार्थनगरको नगर प्रमुखमा इस्तियाक अहमदको नाम सिफारिस गरेपछि उहाँ असन्तुष्ट भएका हुन् । इस्तियाक राप्रपाबाट नेपाली कांग्रेसमा आएका थिए, उहाँ संविधानसभा सदस्य समेत हुन् ।







प्रतिक्रिया