काठमाडौं– अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ४० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताएर पहिलो र ठूलो पार्टी बनेको थियो । यस वर्ष एमालेबाट माधव नेपाल समूह बाहिरिएकोले नेपाली कांग्रेस आफू पहिलो हुने दाबी गर्दै आएको छ । त्यति मात्र होइन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि आफ्नै पार्टी पहिलो र ठूलो हुने दाबी बेलाकुबेला गर्दै आउनुभएको छ । त्यसो त गत भदौमा एमालेबाट केही नेताहरु लिएर बाहिरएको नेकपा (एस)का अध्यक्ष माधव नेपाल पनि आउने निर्वाचनमा आफ्नो दल पहिलो बन्नबाट कसैले रोक्न नसक्ने बताउनुहुन्छ ।
तर के अब आउने निर्वाचनमा त्यस्तै परिणाम आउला त ? एमालेका विरुद्ध गठबन्धन गरेर चुनावी मैदानमा होमिएका सत्तारुढ पार्टीको प्रारम्भिक अवस्थाको सानो विष्लेष्ण गर्ने प्रयास गरेका छौं ।
कैयौं दिनको अथक प्रयासपछि एमाले विरुद्ध सत्ता गठबन्धनले हिजो ६ वटा महानगर र ११ वटा उपमहानगरका प्रमुख र उपप्रमुखमा सिट बाँडफाँड गरेको छ । जस अनुसार कांग्रेसले ३ महानगर,(काठमाडौ,विराटनगर र ललितपुर) र ७ उपमहानगर (धरान,बुटवल,इटहरी,कलैया,तुलसीपुर,नेपालगञ्ज र धनगढी)का प्रमुख पाउने भएको छ । पहिलो पार्टी हुने दाबी गर्ने कांग्रेसले संख्यामा हेर्ने हो भने ३ वटा महानगर त चुनाव अघि नै हारिसक्यो । यो भनेको ५० प्रतिशत महानगरमा कांग्रेसले अहिले नै गुमाइसक्यो । त्यस्तै ४ वटा उपमहानगर पनि कांग्रेसले अहिले नै गुमाइसक्यो । यसको अर्थ ३६.३ प्रतिशत उपमहानगर कांग्रेसले अहिले नै हारिसक्यो । सर्वसाधरण मतदाता समक्ष कांग्रेसका नेताहरुले पहिलो पार्टी बन्छु भन्दै गर्दा उनीहरुले कांग्रेसलाई सोध्नेछन् ५० प्रतिशत महानगर र ३६ प्रतिशत उपमहानगर चुनाव अघि नै हारिसक्नु भयो । चुनाव पछिको त कुरै नगरौं । अब पहिलो पार्टी बन्छु भन्ने हैसियत कहाँबाट राख्नुहुन्छ ?
राजनीतिक विष्लेषकका अनुसार शतप्रतिशत सिटमा उम्मेदवारी दिएर पहिलो पार्टी बन्छु भनेको भए जनताले पत्याउने पनि थिए होलान् तर आधाआधी सिटमा उम्मेदवारी दिएर पहिलो पार्टी बन्छु भन्नु आफैंमा आधारहिन तर्क हो । यो सिटको बाँडफाँडकै आधारमा देशका अन्य नगरपालिका र गाउँपालिकामा कति सिट भागी पाउला भन्ने कुराको संकेत प्राप्त भइसकेको छ ।

हरेक चुनावमा आफूलाई सबभन्दा ठूलो पार्टी बन्छु भन्न नछोड्ने तर सधैं कसै न कसैको वैशाखी बिना निर्वाचनमा जानै नसक्ने माओवादी पार्टीले जम्मा ६ मध्ये एउटा भरतपुर महानगरपालिका जिम्मा बुझेर स्थानीय निर्वाचनमा पहिलो पार्टी बन्छु भन्नु हुटिट्याँउले सागर थाम्छु भन्नुमा खासै भिन्नता छैन । प्रतिशतको हिसाबले महानगरमा माओवादीले १६.६ प्रतिशत सिट पाएको छ । जसका आधारमा पहिलो पार्टी बन्छु भन्दा आम मतदाताले के भन्लान् ? ११ उपहमहानागर मध्ये माओवादीले २ वटा जीतपुर सिमरा र घोराहीमा उम्मेद्वारी दिन पाउने भएको छ । यसको अर्थ ९ वटा उपमहानगर उसले चुनाव अघि नै गुमाइसक्यो । ‘६ मा १ भाग पाउने ११ मा २ भाग पाउने माओवादीले पहिलो पार्टी त हैन मुस्किलले आफ्नो अस्तित्व देखाउने हैसियतमा अहिले नै पुगिसक्यो’ गठबन्धनप्रति असन्तुष्ट माओवादी कै एक नेता भन्छन् ‘यो मनोवैज्ञानिक हारको फाइदा गठबन्धन बाहिरको दललाई सहजै हुन्छ ।’
नेकपा एसको त धेरै व्याख्या गर्नु परेन । एमालेबाट अलगिएको बिलौना स्वरुप माधव नेपाल बेला बेला हामी पहिलो दल भन्छौं भन्नुहुन्छ । उहाँको पार्टीले ६ मध्ये १ पोखरा महानगरमा उम्मेदवारी दिन पाउनेछ । त्यस्तै ११ मध्ये १ हेटौडा उपमहानगरमा उम्मेद्वारी दिन पाउनेछ । जम्मा ११.७६ प्रतिशत सिटमा उम्मेद्वारी पाएको दल पहिलो हुने ? निर्वाचनमा मजाकको पनि एउटा सिमा हुन्छ । यो मजाक सिमा भन्दा धेरै बाहिर छ । जनता समाजवादी पार्टी र नेकपा एसको हैसियत बराबरी छ । किनकि जसपाले पनि एसले जस्तै १ वीरगन्ज महानगर र १ जनकपुर उपमहानगरमा उम्मेद्वारी दिन पाउने भएको छ । जुन ११.७६ प्रतिशत सिट हो ।
गठबन्धनका दलहरुले अब यसैगरी सिट विभाजन गर्नेछन् । र,कांग्रेस निर्वाचन अगावै ५८ प्रतिशत सिटमा मात्र उम्मेद्वारी दिन पाउने अवस्थामा खुम्चिनेछ भने माओवादी १७ प्रतिशतमा अहिले नै खुम्चिनेछ । एस र जसपा ११ प्रतिशत सिट मा चित बुझाएर बस्नेछन् । गठबन्धनकारी दलहरुबाटै तीव्र असन्तुष्टिका बीच यस्तो अवस्थाको सिट बाँडफाँडले कहाँ पुग्ला कांग्रेस अनि माओवादी र एस पार्टीको हैसियत के होला भन्ने अनुमान धेरै मतदाताले अहिले नै गरिसकेका छन् । ‘खुट्टी हेर्दै चाल पाइयो’ भने जस्तै सिट बाँडफाँडको पहिलो चरणमै आगामी निर्वाचनपछि यी दलहरुको अवस्थाको पूर्व अनुमान भइसकेको छ ।





प्रतिक्रिया