काठमाडौं । भोजपुरमा पौवादुङमा गाउँपालिकामा गठबन्धन टुटेको छ । यो गाउँपालिकामा यसअघि नेकपा माओवादी केन्द्रलाई अध्यक्ष र उपाध्यक्ष कांग्रेसलाई दिने सहमति भएको थियो ।
तर, वडाअध्यक्ष बाँडफाँटमा कुरा नमिलेपछि सहमतिको भोलिपल्ट नै गठबन्धन टुटेको हो । अब यहाँ दुवै दल एक्लाएक्लै भिड्ने छन् ।
सत्तारुढ गठबन्धनको जिल्लास्तरीय संयन्त्रले मंगलबार सिट बाँडफाँट गरेको थियो । गाउँ कार्य समिति कांग्रेसका अध्यक्ष मनोज कार्की र माओवादी अध्यक्ष सन्तोष मुक्मिन राईले संयुक्त विज्ञप्ति निकालेर पौवादुङमामा गठबन्धन नगरी आ–आफ्ना दलबाट उम्मेदवार मनोनयन गर्ने निर्णय गरिएको उल्लेख गरेका छन् ।
६ वटा वडा रहेको यस पालिकामा माओवादीले ३ वटा वडा दाबी गरेको थियो । गाउँपालिका अध्यक्ष नै माओवादीलाई दिएपछि वडाध्यक्षमा कांग्रेस बढी भाग लिन चाहन्थ्यो ।
२०७४ को चुनावमा पौवादुङमामा नेकपा एमालेबाट किरण राई १२९ मतान्तरले विजयी भएका थिए । किरणले १९६३ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नगेन्द्रबहादुर भुजेल ‘शैलेन्द्र’ ले १८३४ मत प्राप्त गरेका थिए ।
यसपटक एमालेबाट अहिलेका अध्यक्ष किरण राई र ज्योत्सना राई, कांग्रेसबाट मनोज कार्की साथै माओवादीबाट नगेन्द्र भुजेलले प्रमुखमा दाबी गरेका छन् ।







प्रतिक्रिया