अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारी चितवन आउनुहुँदै

राष्ट्रपति भण्डारी चितवन आउनुहुँदै


चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन आउँदै हुनुहुन्छ । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।

सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनुभयो ।

औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासबारे जानकारी दिन प्रत्येक दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको जानकारी दिनुभयो । सन् २०२१ मा एक्स्पो कोभिड–१९ का कारण हुन सकेको थिएन ।

यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहने छन् ।