विराटनगर – आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन संघारमा आइपुग्दा दलहरुले उम्मेदवार टुंगो लगाउने क्रम तीव्र पारेका छन् ।
संखुवासभा जिल्लाको सबै पालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखहरुको नाम टुंग्याएको छ । प्रमुख र उपप्रमुखको नाम टुंगो लागेसँगै प्रदेश १ मा संखुवासभा सवैभन्दा पहिले प्रमुख र उपप्रमुखको नाम टुंग्याउने जिल्ला बनेको हो ।
नगर-गाउँ हुँदै जिल्ला कमिटीको सिफारिसमा एमाले प्रदेश कमिटीले सबै पालिकाका प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको जनाइएको छ। प्रदेश कमिटीले भने त्यो जिम्मेवारी पाँच सदस्यीय पदाधिकारीलाई दिइसकेको छ ।
एमालेले संखुवासभाको पाँच नगरपालिका र पाँच गाउँपालिका गरी १० वटै स्थानीय तहमा प्रमुख र उपप्रमुखहरु नाम टुंगो लगाएको जानकारी प्रदेश कमिटीमा आएको नेकपा एमाले संखुवासभाका अध्यक्ष जीत बहादुर घिमिरेले बताउनु भयो । उहाँले उम्मेदवार टुंगो लागेका कारण अब उम्मेदवारहरुसहितको चुनावी प्रचार–प्रसार अभियान अघि बढाउन बाटो खुलेको बताउनु भयो ।
नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका अनुसार संखुवासभाको पाँच नगरपालिकाहरु मध्ये सदरमुकाम खाँदवारीको मेयर पदमा जिल्ला अध्यक्ष रहेका घिमिरे र उपमेयरमा महेश्वरा बज्राचार्यको नाममा सहमति जुटाएको जनाइएको छ ।
एमालेले पाँचखपन नगरपालिकाको मेयरमा हिन्दुकुमार राई र उपमेयरमा अनिता नेउपाने, चैनपुर नगरपालिकाको मेयरमा कृष्णकुमार तामाङ र उपमेयरमा एलिना श्रेष्ठ, मादी नगरपालिकाको मेयरमा जीवन लिङ्थेप र उपमेयरमा सुनिता दाहाल र धर्मदेवी नगरपालिकाको मेयरमा उदयचन्द्र पौडेल तथा उपमेयरमा लक्ष्मी गिरीको नाम टुंगो लागेको जनाइएको छ । धर्मदेवीको मेयरमा नाम टुंगो लागेका पौडेल यसअघि सोही नगरपालिकाको वडा ५ का वडाध्यक्ष हुन् ।
त्यसैगरी एमालेबाट संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्षमा वाङ्छेदर लामा र उपाध्यक्षमा सहाना लामालाई टिकट दिने टुंगो लगाएको छ ।
मकालु गाउँपालिकाको अध्यक्षमा भरत कटुवाल र उपाध्यक्षमा चमेली राई, चिचिला गाउँपालिकाको अध्यक्षमा रामबहादुर गुरुङ र उपाध्यक्षमा बिष्णुमाया राईको नाम टुंगो लगेको जनाइएको छ ।
सिलिचोङ गाउँपालिकाको अध्यक्षमा खड्गनन्द राई र उपाध्यक्षमा मेनका राई र सभापोखरी गाउँपालिकाको अध्यक्षमा रत्नकुमार सुब्बा र उपाध्यक्षमा सविता कालाखेतीको नाममा सहमति जुटेको जनाइएको छ ।
मकालुमा उपाध्यक्षमा सर्वसम्मत भएकी राई नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि दोहोरिन लागेकी हुन् । त्यसैगरी रत्न सुब्बा सभापोखरीमा दोस्रो कार्यकालका लागि दोहोरिने निश्चित भएको एमाले संखुवासभाका अध्यक्ष घिमिरेले जानकारी दिनु भयो ।
प्रदेश १ का १३७ वटा स्थानीय तहहरु मध्ये एक महानगर र दुईवटा उपमहानगरपालिका बाहेक ९० वटा स्थानीय तहको प्रमुख र उपप्रमुख टुंगो लागेको एमाले स्रोतले दाबी गरेको छ । एमाले प्रदेश कमिटीको पदाधिकारी बैठक विराटनगरमा जारी छ । बैठकले जिल्लाबाट आकांक्षीहरु र पार्टी नेतृत्वलाई बोलाएर राय लिने र नाम टुंगो लगाउने काम गरिरहेको छ ।







प्रतिक्रिया