अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक घर एक धाराले नर्जाखानीवासीको दैनिकी फेरियो

एक घर एक धाराले नर्जाखानीवासीको दैनिकी फेरियो


गलकोट – बागलुङको तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानी गाउँका ११४ घरमा खानेपानीको धारा पुगेको छ । कुवा, ताल तथा तलाउको पानी उपभोग गर्दै आएका नर्जाखानी बासीको घर घरमा अहिले खानेपानीको पहुँच पुगेको छ । 

लामो समय स्थानीयवासीले खानेपानीको चरम अभाव भोग्दै आएको थियो । अहिले एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानीको धारा जडान गरिएको तमानखोला गाउँपालिकाले जनाएको छ । गाउँमा पानीको अभाव हुँदा यहाँका स्थानीयवासीले एक गाग्री पानीका लागि घण्टौं समय लगाएर खोलामा धाउनुपर्ने बाध्यता रहेको थियो । एक घर एक धारा निर्माणसँगै सो बाध्यता हटेर गएको छ । पालिकाकै सबैभन्दा दुर्गम गाउँमा एक घर एक धारा सञ्चालनमा आएपछि अहिले नर्जाबासीका लागि वरदान सावित भएको छ । 

नर्जाखानी गाउँकी मिन छन्त्याल अहिले घर घरमै धारो बनेको र बानी पनि प्रसस्तै आउँदा पहिलेको दुख बिर्सिएको बताउनुभयो। उहाँले पानीको अभावका कारण विगतमा बिहानसाँझ पानी बोक्न मै महिलाको दिन बित्ने गरेकोमा अहिले आफूहरुको दैनिकी नै फेरिएको बताउनुभयो ।

 एक घर एक धाराले गर्दा तरकारीलगायत अन्य खेती गर्न सहज भएको भन्दै समयको समेत बचत हुने गरेको उहाँको भनाइ छ। नर्जाखानीमा तमानखोला गाउँपालिकाले रु ३८ लाख लगानी गरेर एक घर एक घरा निर्माण गरेको छ । स्थानीयवासीलाई खानेपानीको साह्रै समस्या भएपछि पहिले खानेपानीको योजनामा लगानी गरेको तमानखोला गाउँपालिका–६ नर्जाखानीका वडाध्यक्ष कुलबहादुर छन्त्याल बताउनुभयो ।

एक घर एक धारा निर्माणका लागि स्थानीयवासीले श्रमदान पनि गरेका छन् । यो अभियानअन्तर्गत नर्जा गाउँमा ११४ व्यक्तिगत धारा र दुई वटा सार्वजनिक धारा निर्माण गरिएको छन्त्यालले बताउनुभयो । उहाँले वडा नम्बर ६ नर्जाखानीकै भित्रिवनमा पनि एक घर एक धारो निर्माण गरेको बताउनुभयो । “हामीले यहाँका प्रत्येक बस्तीमा खानेपानीको व्यवस्थापनका लागि लागेका छौँ, अहिले भित्रीवनमा पनि योजना सञ्चालनमा आएको छ, विभिन्न आर्थिक वर्षमा विनियोजन गरेको २० लाखले यहाँ काम भएको हो”, अध्यक्ष छन्त्यालले भन्नुभयो ।

तमानखोला गाउँपालिका भित्रका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पु¥याउनका लागि तमानखोला गाउँपालिकाले विभिन्न योजना अगाडि बढाइरहको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । गाउँपालिकासहित प्रदेश सङ्घ सरकार र साझेदार निकाय नेवा, कादुरी तथा ब्रिटिस गार्खा वेलफेयरमार्फत पनि खानेपानीका योजना निर्माणको काम अगाडी बढेको बताउनुभयो ।

गाउँपालिकाले पालिकाका सबै बस्तीका नागरिकलाई स्वच्छ र सफा पानी सहज रुपमा खुवाउने उद्देश्यले काम गरेको उहाँले बताउनुभयो । अध्यक्ष बुढामगरले अहिलेसम्म अधिकांश बस्तीमा एक घर एक धारो निर्माण गरेको भन्दै केही छुटेका बस्तीमा पनि निर्माण सुरु गरेको भन्दै केही समयमा सबै नागरिकले सहज रुपमा खानेपानी उपभोग गर्न पाउने बताउनुभयो ।