काठमाडौं- सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारी दर्ता भोलि मात्रै गर्ने भएको छ ।
केही ठाउँ बाहेकमा साझा उम्मेदवार तय भइनसकेकाले भोलि मात्रै उम्मेदवारी दर्ता हुने बताएको हो । एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले भन्नुभयो ‘गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता भोलि मात्रै हुन्छ,आज अबेरसम्म गठबन्धनको बैठक बसेर टुंगिएपछि अधिकांश दर्ता भोलि नै हुन्छ ।’
माओवादी केन्द्रले पनि नमिलेको ठाउँमा वार्ता गरेर टुंग्याउनुपर्ने भएकाले मिलेको ठाउँमा बोहक धेरै ठाउँमा भोलि नै उम्मेदवारी दर्ता हुने बताएको छ । आजै टुंग्याउने प्रयास हुने पनि जनाएको छ ।
सीमित जिल्लाहरुमा सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भए पनि धेरै ठाउँमा मिल्न सकेको छैन । कति जिल्लामा तालमेल हुने र कतिमा स्वस्थ प्रतिस्पर्धा हुने भन्ने कुरा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेपछि थाहा हुने बताइएको छ ।
सत्तारुढ नेपाली कांग्रेसले नै अधिकांश महानगरका मेयर/उपमेयर तथा उपमहानगरका मेयररउपमेयरका उम्मेदवार टुंग्याउन सकेको छैन । त्यो विषयमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेसका नेताहरुले शनिबार राति अबेरसम्म बसेको बैठकमा उम्मेदवार टुंगो लगाउने प्रयास गरेका भए पनि कुरा मिल्न सकेको थिएन ।
त्यस्तै नमिलेको ठाउँको विवाद मिलाउन सत्ता गठबन्धनको चुनावी संयन्त्रको बैठक समेत बोलाइएको छ । उक्त बैठकपछि गठबन्धनका शीर्ष नेताहरुसहितको बैठक हुने छ ।
गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि अपरान्ह ३ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ । संयन्त्रले दिएको सुझावका आधारमा शीर्ष नेताहरुले यो बैठकमा विवादित ठाउँबारे निर्णय लिने छन् ।







प्रतिक्रिया