काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाबीचको शक्ति संघर्षका कारण झापामा टिकट वितरण विवादित बनेको छ ।
सिटौला समूहले एकलौटी गर्न खोजेको भन्दै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रबाटै हस्तक्षेप गरेर टिकट वितरण गरेका छन् । कांग्रेसको विधानअनुसार नगरपालिकाका मेयर र उपमेयर पदको उम्मेदवार नगर र जिल्लाको सिफारिसमा प्रदेश कार्यसमितिले टुंगो लगाउने व्यवस्था छ ।
त्यहीअनुसार प्रदेश संसदीय समितिले झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा सिटौलानिकट केशवराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रदेश संसदीय समितिका सभापति उद्धव थापा नेता सिटौलाका विश्वासपात्र हुन् ।
तर, महामन्त्री शर्माले मेचीनगरको मेयरमा आफुनिकटले पाउनुपर्ने दाबी गरेपछि सभापति देउवाले केन्द्रबाटै मेचीनगरको आधिकारिक उम्मेदवार इन्द्रबहादुर बुढाथोकी भएको मनोनयन पत्र निर्वाचन अधिकृतको कार्यालयलाई पठाएका छन् । झापा क्षेत्र नं. १ का सभापति रहेका बुढाथोकी शर्मानिकट नेता हुन् ।
झापामा वर्षौदेखि सिटौला र शर्माबीच शक्ति संघर्ष छ । सिटौलाले प्रदेश १ मा संस्थापन समूहबाट तालमेल गरेर आफूनिकट थापालाई प्रदेश सभापति बनाएका थिए । महाधिवेशनमा झापा जिल्लामा समेत सिटौला समूहको वर्चस्व छ ।







प्रतिक्रिया