अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिया किसान आन्दोलनका अगुवा काजीमान सूर्योदय नगरपालिकामा एमालेबाट उम्मेद्वार

चिया किसान आन्दोलनका अगुवा काजीमान सूर्योदय नगरपालिकामा एमालेबाट उम्मेद्वार


इलाम काजिमान कागते इलामको पूर्वी क्षेत्रमा स्थापित नाम हो । सरल जीवन शैली, सहयोगी स्वभाव, मृदुभाषी कागतेको ठट्यौली पारामा प्रस्तुत हुने बानीका कारण उहाँ धेरैले रुचाउने व्यक्ति हुनुहुन्छ । कागते औपचारिक घेराभित्र सीमित हुनुहुन्न । त्यसैले जो कोहीको पहुँच उहाँसम्म सहज हुन्छ । कागते आफ्नो सामाजिक कामकै कारण एउटा संस्थाझै स्थापित हुनुहुन्छ । अहिलेसम्म कुनै विवादमा नमुछिएका कागतेले आफ्नो व्यक्तित्वमा दाग लाग्न दिनुभएको छैन ।
२०१८ सालमा बाबु मोहन बहादुर कागते र आमा फूलमाया कागतेको माइलो सन्तानको रूपमा जन्मिएका कागते १८ वर्षकै उमेरमा कम्युनिष्ट पार्टीको सम्पर्कमा पुग्नुभयो । उहाँ भारतको पश्चिम बंगालस्थित जलपाइगुडी जिल्लाको गरुचिया भन्ने ठाउँमा रहँदा भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा पुग्नुभयो । नेपालमा भने २०४६ सालदेखि माले हुँदै नेपाली बामपन्थी आन्दोलनमा होमिनुभयो ।
कागते २०४९ मा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा तत्कालीन कन्याम गाविस वडा नं। १ को वडाध्यक्ष निर्वाचित भएपछि जनप्रतिनिधिको यात्रा शुरु भएको हो । त्यसपछि उहाँ कन्याम गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभयो । गाविसमा दुई वर्ष उपाध्यक्षको भूमिका निर्वाह गर्नुभयोे । तीनवर्ष कार्यवाहक अध्यक्ष । २०७४ को आम निर्वाचनमा उहाँ इलाम १ ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । कागतेले इलाम निर्वाचन क्षेत्र नम्बर १ को एमालेको क्षेत्रीय अध्यक्षको रूपमा दुई नेतृत्व गरिसक्नुभएको छ ।
माओवादीको सशस्त्र द्वन्द्वताका गाउँ गाउँमा अन्य राजनीतिक दलको गतिविधि प्राय शुन्य थियो । त्यसबेला इलामको पूर्वी क्षेत्रमा पनि एमालेको उपस्थिति निकै कमजोर भएको थियो । त्यसबेला कागते एमालेको खम्बा बनेर उभिनुभयो । कमजोर भएको पार्टीलाई दिनरात काम गरेर उकास्नुभयो र पार्टीलाई चुनाव हार्न दिनुभएन ।
२०५८÷०५९ तिर आठ रुपैयाँमा पनि हरियो पत्ति विक्दैनथ्यो । चिया प्रशोधन उद्योगहरूले हरियोपत्तीको मूल्य निर्धारणमा सिण्डिकेट लगाउँथे । त्यसबेला काजिमान कागतेले चिया किसानको पक्षमा भएको आन्दोलनको अगुवाई गर्नुभयो । मुलुकमा हरियोपत्ती नै विक्री नहुने अवस्थामा उहाँकै अगुवाईमा किसानले उत्पादन गर्ने हरियोपत्ती भारतसम्म पु¥याएर विक्री गर्नुभयो ।
त्यसबाट किसानले केही राहत पाए । भातमा हरियोपत्ती निकासी हुन थालेपछि किसानको हातमा भारु २० रुपैयाँसम्म पर्न थाल्यो । तर, त्यो उपाय दीर्घकाल टिकेन । भारतीय चिया दलालहरूले उद्योगले दिने चियाको पेमेन्ट नै खाइदिन्थे । हरियोपत्ती भारत लगेर बेच्दा डुबेको २० लाख रुपैयाँ जति रकम अहिले पनि उठेको छैन । भारतमा विक्री गरेको चियाको पेमेन्ट समेत नपाउने अवस्था आएपछि चियाको औद्योगीकरणको लागि कागते लागीपर्नुभयो । शुरुमा हाते चिया प्रशोधनको लहर चल्यो । गाउँ गाउँमा साना साना चिया प्रशोधन गर्ने घरेलु उद्योग स्थापना भए । कागतेले पनि घरैमा झुल्केघाम हाते चिया उद्योग स्थापना गरेर हातैले माडेर तयारी चिया बनाउन थाल्नुभयो । हाते चिया उद्योगहरूमा चिया प्रशोधनका प्रविधि खासै थिएनन्, पछि बिस्तारै बिस्तारै चिया प्रशोधन गर्ने चिनिया मेसिन भित्रियो । उहाँले पनि ‘लर्ड बुद्ध’ चिया प्रशोधन उद्योग स्थापना गर्नुभयोे । अहिले चिया प्रशोधन उद्योग भने कान्छा छोरा लाक्पा दोर्जेले चलाउनुहुन्छ । चियामा देखिएको समस्या समाधानको लागि अहोरात्र खटिरहने उनै कागते चियाको क्षेत्रमा काम गर्न राज्यले बनाएको चिया तथा कफि विकास बोर्डमा दुई पटकसम्म सदस्य हुनुभयो । बोर्डमा हुँदा चिया रोपणको लागि किसानले लिएको ऋणको ब्याज र हर्जना मिनाहा गराउन सफल भएको कागते सुनाउनुहुन्छ ।
‘यो सूर्योदय नगरपालिका क्षेत्रकै धेरैको घरजग्गा लिलाम हुने अवस्था थियो, भाका नाघेको दश लाख रुपियाँसम्म ब्याज हर्जना मिनाहा हुँदा धेरैलाई राहत मिल्यो’, कागतेले सुनाउनुु भयो ।
कागते सामान्य परिवारमा जन्मिएका व्यक्ति हुनुहुन्छ । जनप्रतिनिधि हुनु अघि कागतेको दैनिकी खेतीपाती मेलापातमै वित्थ्यो । उहाँ ढुङ्गा फार्ने, काठ काट्ने, मिस्त्री काम ९घर बनाउने काम०, खेती लगाउने काम गर्नुुहुुन्थ्यो । कागतेले आफ्नो घर बनाउँदै हुनुहुन्थ्यो । त्यही बेला एमालेले उहाँलाई कन्याम गाविस १ मा वडाध्यक्षको उम्मेदवार बनायो । कागते बनाउँदै गरेको घर अधुरै छाडेर चुनावमा लाग्नुुभयो । उहाँको त्यो अधुरो घर अहिलेसम्म पनि पुरा भएको छैन । कागतेले त्यही अपुरो घरमा बसेर सामाजिक काम गरिरहनुभएको छ । त्यही भएर उहाँको एउटा किस्सा चर्चित छ– ‘काजिमान कागतेले अरूको काम गर्दा गर्दै आफ्नो घर पूरा गर्न भ्याएन ।’ अपुरो घरको कुरा गर्दा कागतेले हास्दै भन्नुभयो, ‘त्यतिबेला थालेको घर अहिले पनि पूरा भएको छैन नि हाउ, अब त भत्काउने बेला भइसक्यो तर यसो म्युजियम जस्तो बनाउन पाए हुन्थ्यो ।’
राजनीतिमा होमिएपछि कागतेले आफ्नो काममा खासै ध्यान दिनुभएन, त्यसैले पहिले चिया रोप्दा छोडिएको ठाउँ अहिले पनि भरिएको छैन ।
कागतेले शिक्षा क्षेत्रको विकासमा पनि निकै योगदान गर्नु भएको छ । कन्याममा रहेको श्रीकृष्णाश्रम माबिमा लगातार १५ वर्ष विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्नुभयो । विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक थियो । कुनै बेला एसएलसीको नतिजामा शुन्य हुने विद्यालयले कागते ब्यवस्थापन समितिमा आएपछि शतप्रतिशतसम्म नतिजा निकाल्यो । पूर्वी क्षेत्रमा करफोक विद्या मन्दिर र दानाबारीको गरुवा बहुमुखी क्याम्पस बाहेक अन्य ठाउँमा उच्च शिक्षा अध्ययन गर्ने ठाउँ थिएन । कागतेकै पहल र प्रयासमा कन्यामको कृष्णाश्रममा प्लस टुको पढाई शुरू भएको हो ।
कागतेले धेरैलाई उनीहरूको व्यक्तिगत काममा पनि सघाएका छन् । नागरिकता, पासपोर्ट, जन्मदर्तासम्मको लागि धेरैजना उहाँलाई भन्न आउँथे । कतिसँग यी कामका लागि समेत खर्च हुँदैनथ्यो । त्यसको जोहो गर्न पनि उहाँ पछि हट्नुभएन । ‘कतिलाई त खाजा खर्च गाडीभाडा समेत दिएर घरसम्म पु¥याएको छु’, उहाँले भन्नुभयोे, ‘बिरामी पर्दा, दुःखमा परेकालाई त धेरैलाई सहयोग गरियो ।’ कागतेले मध्यस्थकर्ताको रूपमा पनि काम गर्नु भएको छ । स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा मानव अधिकार मञ्चले गाउँ गाउँमा मध्यस्थकर्ता उत्पादन गरेको थियो । मध्यस्थकर्ताको भूमिकामा हुँदा कागतेले थुप्रै विवाद सल्ट्याउनुभएको छ । ‘कति त अड्डा अदालत धाउँदा धाउँदा गरेर नमिलेको चिज पनि बसेर मिलाइन्थ्यो’, विगत सम्झिँदै कागतेले भन्नुभयोे ।
कागते अरूका कुरा राम्रोसँग सुन्न्नुहुन्छ । सक्ने सहयोग गर्न पछि पर्नुहुन्न । आफूले सहयोग गर्न नसके ढाडस दिएरै भएपनि सहयोग गर्ने कोशिस गर्नुहुन्छ । समाज बुझ्नुभएको छ । विकासको आवश्यकता बुझ्नुु भएको छ । उनै कागते आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट सूर्योदय नगरपालिकामा नगरप्रमुखको उम्मेदवार बन्दैहुनुहुन्छ ।

प्रस्तुती : ख्याम भुजेल