अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकको भावना बुझेर भीमेश्वरलाई समृद्ध बनाउँछु : हरिवंश चौलागाई

नागरिकको भावना बुझेर भीमेश्वरलाई समृद्ध बनाउँछु : हरिवंश चौलागाई


दोलखा – भीमेश्वर नगरपालिका एमालेबाट मेयरको उम्मेदवारी दिएका हरिवंश चौलागाईले नगरको विकास नयाँ ढंगले गर्ने उद्घोष गरेका छन् । चौलागाईले एमालेले अघिल्लो कार्यकालमा कोरेको विकासको खाका बाट भीमेश्वरलाई समृद्द बनाएरै छाड्ने उद्घोष गरेका हुन् ।

स्थानीय सरकार नहुँदा सर्वदलीय संयन्त्रमा भीमेश्वर नगरबाट एमालेको प्रतिनिधि भएर पूरै नगरमा विकासको काम अघि बढाएको अनुभवी नेतालाई एमालेले उम्मेदवार बनाएको हो । उनले भीमेश्वरका आम नागरिकको भावना बुझेर विकासका काम अघि बढाउने कार्ययोजना बनाएका छन् ।

सानै उमेरदेखि पूर्णकालीन राजनीतिमा समर्पित भएका उनी इमानदार, समन्वयकारी र असल राजनीतिज्ञ मानिन्छन् । पार्टीभित्र कुशल संगठक, प्रतिबद्ध र इमान्दार नेताको छवि बनाएका र अघिल्लो कार्यकालमा वडा ४ मा वडाध्यक्ष हुँदा समग्र विकास अगाडि बढाएका कारण मेयरको चर्चामै थिए । चौलागाईं आफूलाई निम्न वर्ग, कृषक र मजदूरको प्रतिनिधिको उम्मेदवार भनेर चिनाउन चाहन्छन् ।

राजनीति र विकासका क्षेत्रमा आफ्नो लामो अनुभव भएको र यो नै नगर विकास गराउने महत्वपूर्ण कडी भएको उनको दावी छ । भीमेश्वरमा नेकपा एमालेको संगठन मजबुत बनाउन उनको पनि ठूलो योगदान छ ।

को हुन् हरिवंश चौलागाई ?
स्व.पिता कृष्ण प्रसाद र माता नन्दमाया चौलागाईका सुपुत्रका रूपमा दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु फसिभैँमा वि.सं. २०३४ सालमा हरिवंश चौलागाईँको जन्म भएको हो । सामान्य किसान परिवारमा जन्मेका चौलागाईले १० वर्षको सानो उमेरमा पिता गुमाउनु परेको थियो ।

प्राथमिक शिक्षाको शुरुवात गाउँकै सामान्य विद्यालयबाट गरेका चौलागाईले कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटबाट माध्यमिक शिक्षा पूरा गरे । उनले राजनीतिशास्त्रमा स्नातक सम्मको अध्ययन पूरा गरेका छन् ।

उनको १४ वर्षको कलिलो उमेरमा वि.सं. २०४८ सालमा अनेरास्ववियू प्रारम्भिक कमिटी कालिञ्चोक माध्यमिक विद्यालयमा अध्यक्षको जिम्मेवारीबाट राजनीतिक यात्रा प्रारम्भ भयो ।

निडर, प्रष्टवक्ता, हँसिलो चेहरा र हक्की स्वभावका चौलागाईको अनेरास्ववियूमा सक्रियता र जिम्मेवारी बोधको विशेषताले उनलाई वि.सं.२०५१ सालमा नेकपा एमाले तत्कालीन चरिकोट गाउँ कमिटिको उपसचिवको जिम्मेवारी दिइयो । त्यो समयमा नेकपा एमालेको संगठन विस्तारमा उनको भूमिका महत्वपूर्ण रह्यो ।

हालको नेकपा एमालेको सुदृढ संगठन तत्कालीन समयको संगठन विस्तारलाई लिन सकिन्छ । काममा प्रतिवद्ध र संगठन प्रतिको लगावका कारण चौलागाई वि.स. २०५२ सालमा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष र सोही समयमा राष्ट्रिय परिषद सदस्य समेत बने ।

जिल्लामा रहेका विद्यायमा प्रारम्भिक कमिटी गठन र शैक्षिक आन्दोलनमा अग्रणी र सशक्त भूमिका निर्वाह गरे । तत्कालीन समयमा अनेरास्ववियूले २१ सूत्रीय शैक्षिक माग राखेर आन्दोलन गरेको थियो । त्यसबेला जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएको भन्दै उनलाई ४ दिनको हिरासत समेत राखिएको थियो ।

आजीवन व्यक्तिगत स्वार्थभन्दा पनि सिंङ्गो उर्जाशील समय पार्टी संगठनका लागि खर्चिएका चौलागाईले वि.सं.२०५३ सालमा भीमेश्वर नगर कमिटीको संस्थापक सदस्यको रुपमा काम गरे । वि.सं. २०६१ सालदेखि वि.सं.२०७० सालसम्म (पार्टी सचिवसहित) ३ कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहेर नगरको संगठन बलियो बनाउन उनको भूमिका उल्लेखनीय छ ।

वि.सं. २०६२ सालदेखि एमाले जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी र निरन्तर नगर इन्चार्जको भूमिकामा पार्टी र संगठनका लागि काम गर्दै आएका छन् । उनी हाल मदन भण्डारी फाउण्डेशनको अध्यक्षको भूमिकामा रहेका छन् ।

उनले संघीय शासन व्यवस्था पछिको पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा भीमेश्वर नगरपालिका वडा नं ४ को वडाध्यक्षको जिम्मेवारी पूरा गरी कुशलतापूर्वक कार्यसम्पादन गरेका छन् ।