अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाग्लुङ एमालेमा एकमत : सत्ता गठबन्धनमा बागीको ओइरो

बाग्लुङ एमालेमा एकमत : सत्ता गठबन्धनमा बागीको ओइरो


बाग्लुङ – अघिअघि पञ्चेबाजा पछिपछि उम्मेद्वार । काठेखोला गाउँपालिका ६, सुल्डाँडामा रहेको निर्वाचन अधिकृतको कार्यालय पुग्दा कोही नाचिरहेका थिए, कसैले गीत गाउँदै थिए, कसैले नारा लाउँदै थिए । नेकपा एमालेको तर्फबाट गाउँपालिकाको उमेद्वार बनेका डिलबहादुर कार्की नाचिरहेका थिए । उनका कार्यकर्ताले घरी गित गाउँथे त अघि पार्टीका नारा लगाउँथे ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङका सबै स्थानीय तहमा सोमबार उम्मेद्वारी भए । कतै उल्लासका साथ मनोनयनका लागि पार्टीका नेता कार्यकर्ता पुगे भने कतै असन्तुष्टिहरु पोखिए । असन्तुष्टहरुले बागी उमेद्वारी हाल्नेदेखि पार्टी परित्याग र प्रवेशको हर्कत एकै दिन गरे । जैमिनी, गलकोट, बागलुङ र ढोरपाटनमा यस्ता दृष्यहरु धेरै देखिए ।

राति अबेरसम्म निर्वाचन अधिकृतको कार्यालयहरुले मनोनयन दर्ता गरेका छन् । सोमबार साँझ ५ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेका सबैको प्रक्रिया पूरा गरेर मनोनयन दर्ता गर्दा राति अबेर भएको थियो । प्राप्त सूचना अनुसार बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनकराज पौडेल र राप्रपाका सञ्जय खड्काले उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएको छ । बागलुङ नगरपालिकाको निर्वमान प्रमुख रहेका पौडेलले पदबाट राजिनामा दिएर पुनः प्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको हो । यस्तै राप्रपाबाट खड्काले उपमेयरमा मनोनयन दर्ता गराउनु भएको छ ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठले उमेद्वारी दर्ता गराउनु भएको छ भने उप–प्रमुखमा माओवादी केन्द्रका राजु खड्काले उम्मेद्वारी दिनुभएको छ । जैमिनी नगरपालिकामा एमालेका लिला रानाले प्रमुख र उषा पौडेलले उम्मेद्वारी दर्ता गराउनु भएको छ । गठबन्धनको तर्फबाट नरबहादुर पुनले प्रमुख र हरिहर शर्माले उप–प्रमुखमा उमेद्वारी दर्ता गराउनु भएको छ । उपप्रमुखमा रुद्रा रोका क्षेत्रीले स्वतन्त्र उमेद्वारी दिनुभएको छ । उहाँ राष्ट्रिय जनमोर्चाकी नेतृ हुनुहुन्छ ।

काठेखोला गाउँपालिकामा एमालेका डिलबहादुर कार्कीले अध्यक्ष र कोपिला पुनले उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांगैसका राजु थापाले अध्यक्ष र राजमोका तिलक थापाले उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । नेपाली कांग्रेसका नेता चित्रबहादुर कार्कीले उपाध्यक्षमा स्वतन्त्र उमेद्वारी दिनुभएको छ ।

गलकोट नगरपालिकामा एमालेको तर्फबाट पूर्णबहादुर काउचाले प्रमुख र रुपा विकले उपप्रमुखमा उम्मेद्वारी दिनुभएको छ । गठबन्धनका निर्वतमान नगर प्रमुख भरत शर्मा गैरेले प्रमुखमा उमेद्वारी दिनुभयो माओवादी केन्द्रका नेता फमलाल न्यूरेले उपप्रमुखमा उमेद्वारी दर्ता गराउनु भएको छ । गलकोटमा कांग्रेस नेतृ मञ्जु शर्मा चालिसेले उपप्रमुखमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

बडिगाड गाउँपालिकामा एमालेका युवा नेता राजन पाइजाले अध्यक्ष र मिना रायमाझीले उपाध्यक्षमा उमेद्वारी दर्ता गराउनु भएको छ । गठबन्धनको तर्फबाट कांग्रेस नेतृ गण्डकी थापा अधिकारीले अध्यक्ष र राजमो नेता भीमसेन वनले उपाध्यक्षमा उमेद्वारी दिनुभएको छ । बडिगाडमा राजमोका अनिल गिरीले अध्यक्ष र नेपाली कांग्रेसका यामेन्द्र कुमार घर्तीले उपाध्यक्षमा बागी उमेद्वारी दिनुभएको छ ।

ढोरपाटन नगरपालिकामा निवर्तमान प्रमुख देवकुमार नेपाली एमालेको तर्फबाट प्रमुखको उम्मेद्वार बन्नुभएको छ । निर्वतमान उपप्रमुख करमती पुनले उपप्रमुखमा उमेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्यालले प्रमुख र नेपाली कांग्रेसका कल्याण कायतले उपप्रमुखमा उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

ताराखोला गाउँपालिकामा नेकपा एमालेको तर्फबाट ऋषिराम रोकाले अध्यक्ष र थममाया घर्तीले उपाध्यक्षमा उमेद्वारी दिनुभएको छ । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक ‘हिमाल’ले अध्यक्ष र नेपाली कांग्रेसका भीम बहादुर रोकाले उपाध्यक्षमा उमेद्वारी दिनुभएको छ । निवर्तमान अध्यक्ष प्रकाश घर्तीले गठबन्धनका उम्मेद्वारविरुद्ध अध्यक्षमा बागी उमेद्वारी दिनुभएको छ ।

यस्तै, तमानखोला गाउँपालिकामा एमालेका देवेन्द्र छन्त्यालले अध्यक्ष र टेकमाया विक उपाध्यक्षमा उमेद्वारी दिनुभएको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जोकलाल बुढा अध्यक्ष र नेकपा एकिकृत समाजवादीका तारानाथ सिर्पालीले उपाध्यक्षमा उम्मेद्वारी दिनुभयो । बुढा निर्वमान अध्यक्ष हुन् । निसीखोला गाउँपालिकामा एमालेका भूमिराज घर्तीले अध्यक्ष र भेटु चन्दले उपाध्यक्ष तथा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सूर्यमान घर्ती अध्यक्ष र माओबादी केन्द्रका प्रेम घर्तीले उपाध्यक्षमा उमेद्वारी दर्ता गराउनु भएको छ ।

जिल्लाको बरेङ गाउँपालिकामा एमालेका प्रदिप थापाले अध्यक्ष र दुर्गा कार्कीले उपाध्यक्ष तथा गठबन्धको तर्फबाट कृष्ण पौडेलले अध्यक्ष र नेपाली कांग्रेसका दिलिप पुनले उपाध्यक्षमा उमेद्वारी दर्ता गराउनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै पालिकाका प्रमुख तथा उपप्रमुखमा स्वतन्त्र उमेद्वारी दिनेहरु पनि पुगेका थिए । उनीहरुको तथ्यांक आइसकेको छैन ।

कांग्रेस छोडेर एमालेबाट वडाध्यक्षको उम्मेद्वार
बागलुङको बडिगाड गाउँपालिकाका दुई वडामा नेपाली कांग्रेसका नेताहरुले नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेद्वारी दिएका छन् । कांग्रेसको तर्फबाट वडा अध्यक्षको आकांक्षी रहेका र वडा समितिको सभापति रहेका नेताहरु एमाले प्रवेश गरेर उम्मेद्वार बनेका हुन् ।

बडिगाड गाउँपालिका–५ का कांग्रेस नेता विष्णु आचार्य एमालेको तर्फबाट वडाध्यक्षको उम्मेद्वार बन्नुभएको छ । उहाँ कांग्रेसको तर्फबाट वडाअध्यक्षको आकांक्षी हुनुहुन्थ्यो । सोमबार नै एमाले प्रवेश गर्नुभएका आचार्यले वडाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको हो ।

त्यस्तै, कांग्रेस बडिगाड गाउँपालिका १० का सभापति पुठासिंह बुढाले एमालेको तर्फबाट वडाअध्यक्षमा उमेद्वारी दिनुभएको छ । उहाँ सोमबार मात्रै एमाले प्रबेश गर्नुभएको थियो । दुवै जनालाई पार्टी प्रबेश पछि वडाअध्यक्षको उमेद्वार बन्न टिकट दिईएको पार्टी सचिव बिष्णु भुसालले बताउनु भयो ।

महिला संघकी सचिव एमालेबाट उपप्रमुखको उमेद्वार
नेपाली कांग्रेस निकट नेपाल महिला संघ जिल्ला कमिटी बागलुङकी सचिव उषा पौडेलले नेकपा एमालेको तर्फबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उमेद्वारी दिनुभएको छ । नेपाली कांग्रेसले अन्याय गरेको भन्दै पौडेलले नेकपा एमालेको तर्फबाट उमेद्वारी दिएको बताउनु भयो ।

पौडेल सोमबार नै एमाले प्रबेश गरेर पार्टीको तर्फबाट उमेद्वारी दर्ता गराएको एमाले जैमिनी नगर कमिटिका अध्यक्ष बद्री ढुंगानाले बताउनु भयो । सत्ता गठबन्धनले जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चालाई प्रमुख र नेपाली कांग्रेसलाई उपप्रमुख भागवण्डा लगाएको थियो । उप प्रमुखमा पार्टी सचिव हरिहर शर्मालाई उमेद्वार बनाउने निर्णयपछि पौडेल एमाले प्रबेश गर्नुभएको हो ।

पौडेल प्रवेश गरेपछि एमालेले उपप्रमुखको टिकट पाएकी एमुना शर्माको टिकट खोसेर पौडेललाई उमेद्वार बनाएको छ । जैमिनी नगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका उमेद्वार हरिहर शर्मा, गठबन्धनकै विद्रोही उमेद्वारको रुपमा राजमो नेतृ रुद्रा रोका क्षेत्री र एमालेको तर्फबाट उपा पौडेलको उमेद्वारी दर्ता भएको छ ।

ताराखोलामा निवर्तमान अध्यक्ष घर्तीे बागी उमेद्वार
ताराखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रकाश घर्तीले स्वतन्त्र उमेद्वारी दिनुभएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तफबाट उमेद्वार बनेर अध्यक्ष भएका घर्तीले यस पटक स्वतन्त्र उमेद्वारी दिनुभएको हो । सत्ता गठबन्धनले गठबन्धनले नेकपा माओवादी केन्द्रको तर्फबाट ताराखोला गाउँपालिकामा धनबहादुर विक ‘हिमाल’लाई उम्मेदवार बनाएको छ । तर घर्तीले आँफमाथी अन्याय भएको भन्दै स्वतन्त्र उमेद्वारी दर्ता गराउनु भएको हो ।

जनताले आफूबाटे धेरै अपेक्षा राखेको र जनताको अपेक्षा अनुसार काम गर्नका लागि आफूले पुनः उम्मेदवारी दिनु परेको घर्तीको भनाइ छ । पार्टीको पालिका कमिटीले आफूलाई सर्वसम्म अध्यक्ष बनाउने निर्णय गरे पनि जिल्ला तथा माथिल्लो तहका नेतृत्वले स्वघोषित रुपमा अरुलाई टिकट प्रदान गरेको घर्तीको आरोप छ ।

‘मैले दोहोरिने विषयमा जिल्ला इन्चार्ज, संयोजक, प्रदेशका नेतृत्वहरुलाई पनि जानकारी गराएको थिएँ, जनताले र गाउँ कमिटीले पनि मलाई सर्वसम्मत रुपमा दोहोराउने भनेको थियो, तर उहाँहरुले स्वघोषित रुपमा अरुलाई टिकट प्रदान गर्नुभयो, मसँग लबिङ धनदौलत थिएन, पार्टी नेतृत्वले मलाई अन्याय गर्योर्, त्यसैले स्वतन्त्र उम्मेदवारी दिएँ’ घर्तीले भन्नुभयो ।

गठबन्धनले महिला उम्मेदवारी कटौती
कानूनले गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको मेयर वा उपमेयरमा एकएक जना महिला अनिवार्य हुनुपर्ने प्रावधान राखेको छ । आसन्न स्थानीय निर्वाचनको उम्मेदवारी दर्तामा महिला भने शुन्य प्राय भएका छन् । सत्ता गठबन्धनले बागलुङका १० पालिकामा २० पदाधिकारीको उम्मेदवारी दर्ता गर्दा एक जना मात्रै महिला परेकी छिन् । कांग्रेस सचिव गण्डकी थापा अधिकारी मात्रै बडिगाड गाउँपालिकाको अध्यक्ष पदकी उम्मेदवार बन्नुभएको छ ।

अन्य सबै पालिकामा गठबन्धनले पुरुष उम्मेदवार उठाएका छन् । फरक दलबाट उम्मेदवार बन्दा महिला नचाहिने कानूनी छिद्र खोजेर गठबन्धन्धले महिलालाई टिनट नदिएका हुन् । ‘हामीले प्रमुख र उपप्रमुख पदमा नसक्ने भएर उम्मेदवारी नदिएका होइनौं, गठबन्धनले महिलाको अधिकारै खोसिदिए’ राजमोकी केन्द्रीय सदस्य लक्ष्मी बास्कोटाले भन्नुभयो, ‘महिला अनिवार्य हुने व्यवस्था नभएसम्म यो समस्या रहन्छ ।’ एउटै चुनाव चिन्हमा लड्दा मात्रै प्रमुख र उपप्रमुख फरक लिंगको हुनुपर्ने प्रावधान छ । फरक चिन्हमा लड्दा एकएक उम्मेदवार बनाउन पाउने व्यवस्थाले गठबन्धनले महिलालाई उम्मेदवार नदिएको हो ।

त्यसो त एमालेले राप्रपासँग गठबन्धन गरेकोले बागलुङ नगरपालिकामा पनि प्रमुख र उपप्रमुखमा पुरुष नै उम्मेदवार छन् । कांग्रेसले मेयरमा बसन्तकुमार श्रेष्ठ र माओवादीबाट उपमेयरमा राजु खड्कालाइ उम्मेदवार बनाएको छ । त्यस्तै एमालेले मेयरमा जनकराज पौडेल र उपमेयरमा संजय खड्का उम्मेदवार हुनुहुन्छ । ‘महिलाको अधिकार नभएर होइन, पुरुषबादी चिन्तनले प्रमुख पदमा नपुगेका हुन्’ महिला संघकी अध्यक्ष शकुन्तला शर्माले भन्नुभयो, ‘अब महिलाले फेरी संघर्ष गर्नुपर्ने भयो ।’ उम्मेदवारी नपाएको भन्दै कांग्रेसको भातृ संगठन नेपाल महिला संघ बागलुङकी सचिव उशा पौडेलले पार्टी त्यागेर एमालेबाट जैमिनी नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिनुभएको छ ।

कांग्रेसमा दाबी गरेकी सचिव पौडेलले सोमबारै एमालेको टिकट लिएर उम्मेदवारी दर्ता गर्नुभएको हो । गत मंसिरमा सम्पन्न महाधिवेसनमा पौडेल कांग्रेसको प्रदेश महाधिवेसन प्रतिनिधि समेत निर्वाचित हुनुभएको थियो । जैमिनीमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चालाई मेयर र कांग्रेसलाई उपमेयरको उम्मेदवारी बनाएको थियो । कांग्रेसबाट जिल्ला सचिव हरिहर शर्मा उपमेयरको उम्मेदवार छन् । राजमोबाट बिद्रोही उम्मेदवारको रुपमा रुद्राकुमारी केसीले पनि उममेयरमा उम्मेदवारी दिनुभएको छ । एमालेले लीला रानालाई मेयरको उम्मेदवार बनाएको छ ।