अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत


काठमाडौं – इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा उक्त मुलुकका लागि नेपालका गैरआवासीय राजदूतको ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । 

ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणका क्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवम् समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको इस्लामावादस्थित नेपाली राजदूतावासले आज जनाएको छ । 

श्री अधिकारीलाई इरानका लागि नेपाली राजदूतमा नियुक्त भएकामा राष्ट्रपति अयातोल्लाहले स्वागत गर्दै बधाई ज्ञापन गर्नुभयो । राष्ट्रपतिले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका मित्रवत जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत अधिकारीलाई आग्रह गर्नुभयो ।

राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्ध सधैँ आपसी विश्वास र सहयोगमा आधारित रहेको बताउनुभयो । उहाँले नेपाल र इरान असंलग्न आन्दोलन, समूह ७७, संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा साझा सरोकारका विभिन्न विषयमा मिलेर काम गरिरहेको बताउनुभयो । राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रपति भवन र विदेश मन्त्रालयका उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो । इस्लामाबादस्थित नेपाली दूतावासले इस्लामिक गणतन्त्र इरानलाई पनि सहप्रमाणीकरण गर्दछ ।