बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावका लागि टोलटोलमा परिचालित हुन कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
एमाले नेतृत्वको सरकारले केन्द्रदेखि स्थानीय तहसम्म सुरु गरेका विकासका योजनाबारे जनतालाई बुझाउन र शासक नबनी सेवकको रूपमा प्रस्तुत हुन पार्टी पंक्तिलाई निर्देशन दिनु भएको हो ।
आज बुटवलमा उम्मेदवारको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचन तयारीका लागि गर्नुपर्ने सबै काम तत्काल गर्न पनि निर्देशन दिनु भयो । उहाँले भन्नुभयो, ‘अब समय धेरै छैन, आन्तरिक तयारीका कामलाई छिटो टुंग्याउनुस् र जनताको घरदैलोमा जानुस्, विकासका योजना सुनाउनुस् र स्थानीय सरकारमा एमाले नेतृत्वमा रहँदा गरेका राम्रा कामहरूबारे बुझाउनुस्।’
रुपन्देहीमा रहेका १६ वटा पालिकामध्ये कम्तीमा १३ वटा पालिकामा एमालेको जित निश्चित रहेको उहाँले दाबी गर्नुभयो । ‘बुटवल उपमहानगरपालिकामा जित सुनिश्चित जस्तै छ, अन्य स्थानीय तहहरूमा पनि भारी मतान्तरले एमालेको जित हुने छ,’ उपाध्यक्ष पौडेलले भन्नुभयो ।
सत्ता गठबन्धन रुपन्देहीमा भताभूंग भएको भन्दै पौडेलले गठबन्धनको नाममा एमालेलाई तर्साउन खोजेको सपना पूरा नहुने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘रुपन्देहीका धेरै पालिकामा गठबन्धन टुटेको छ, गठबन्धनमा आबद्ध दलका धेरै कार्यकर्ता अब एमालेमा आउँछौँ भनिरहेका छन् ।’
बुटवल उपमहानगरपालिकामा एमालेले मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ । त्यस्तै चार जना वडा सदस्य दिएर राष्ट्रिय जनमुक्ति पार्टीसँग एमालेले तालमेल समेत गरेको छ । अभिमुखीकरण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य लीला गिरीले उम्मेदवारी मनोनयनका क्रममा देखिएको उत्साहले गठबन्धनभित्र समेत हलचल पैदा भएको बताउनु भयो ।







प्रतिक्रिया