जनकपुरधाम – नेपाली कांग्रेसको राजविराज नगर समितिका सहसचिव सुनिल परियारले नेकपा एमालेबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
सुरुदेखि नै वडा नम्बर ७ को अध्यक्ष पदका आकांक्षी रहनुभएका परियारलाई अन्तिम समयमा टिकट नदिएपछि उहाँले नेकपा एमालेबाट उम्मेदवारी दिनुभएको हो ।
‘सुरुदेखि नै तयारी गरेका थियौं, नेताहरुले पनि टिकट दिने बताइसकेका थिए,’ उहाँले भन्नुभयो, ‘तर अन्तिम समयमा टिकट नदिएपछि महिनौंदेखि गरिएको तयारीलाई पूर्णरुप दिन अर्को पार्टीबाट उम्मेदवार भएँ ।’ उहाँले अन्तिम समयमा आएर पार्टीका नेताले नवआगन्तुकलाई टिकट दिएको बताउनुभयो ।
नेतृत्वले वडा नम्बर ७ मा टिकट वितरणमा मनोमानी गरेको भन्दै कांग्रेसका वडा सभापति मनोज दासले राजीनामा समेत दिनुभएको छ ।
‘वडामा क्रियाशील भएर काम गर्दै आएका कार्यकर्तालाई पाखा लगाएर अन्यलाई टिकट दिइएपछि राजीनामा दिएको हुँ’ उहाँले भन्नुभयो, ‘बुथ समितिको कुनै निर्णय नै लागू हुन नदिने, सधैं निरुत्साहित मात्रै गरिरहने भएपछि पार्टीमा बस्न मन लागेन ।’
प्रतिक्रिया