अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिवद्धता सार्वजनिक गर्दै विराटनगरमा चुनावमा होमियो एमाले

प्रतिवद्धता सार्वजनिक गर्दै विराटनगरमा चुनावमा होमियो एमाले


विराटनगर – आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगरपालिकामा एमालेले चुनावी अभियान तीव्र पारेको छ ।

उम्मेदवारको मनोनयन सम्पन्न भएसँगै पार्टीका तर्फबाट प्रतिवद्धता सार्वजनिक गर्दै एमाले चुनावमा होमिएको हो । विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको पार्टी कार्यालयमा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले १४ पृष्ठ लामो प्रतिवद्धतापत्र बुधबार सार्वजनिक गनुभएको थियो ।

प्रतिवद्धतापत्रअनुसार एमालेले विराटनगरको शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सडक, खानेपानी, सरसफाई तथा ढल निकास, सुरक्षित आवास र सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ । वातावरण संरक्षण, पार्क निर्माण, सूचना र सञ्चार, सडक सुरक्षा युवा तथा रोजगारी, खेलकुद तथा शारीरिक सुगठन, शहरी कृषि विकास, उर्जा र औद्योगिक विकास, विज्ञान तथा प्रविधि, लघु उद्योग र बजार विकास, साहित्य, कला, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन, सुशासन र पारदर्शिता, बाह्य सम्बन्ध एमालेको प्राथमिकतमा परेका छन् ।

एमालेको प्रतिवद्धतापत्रमा ‘हाम्रा जनप्रतिनिधि शासक नभई जनताको सेवक हुन्, उनीहरुले सामाजिक जागरण र विकासका अभियान्ताको रूपमा काम गर्नेछन्’ भन्ने उल्लेख गरिएको छ । त्यस्तै वृहत गुरुयोजना बनाएर विराटनगरलाई व्यवस्थित, विकसित र वातावरण मैत्री स्मार्ट सिटी बनाउनेदेखि प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश सरकारका संरचनालाई व्यवस्थित ढंगबाट निर्माणका लागि आवश्यक पहल तथा सहजीकरण गर्ने विषयलाई पनि एमालेले समेटेको छ ।

घोषणापत्र सार्वजनिक गर्दै घिमिरेले सम्पूर्ण महानगरवासीलाई समृद्ध विराटनगर र सुखी नेपाली बनाउने अभियानमा सरिक हुन आग्रह गर्नुभयो । एमालेबाट विराटनगरको मेयरको उम्मेदवार रहेका एमाले महानगर कमिटीका अध्यक्ष सागर थापाले विराटनगरको विकास गर्नकै लागि आफू उम्मेदवार भएको र जनताको सेवकको रूपमा काम गर्ने बताउनुभयो ।

उनका अनुसार अहिले चुनावी अभियान तीव्र पारिएको छ । ‘पार्टीको महानगर कमिटीले जनता सामु आफ्ना प्रतिवद्धता पनि सार्वजनिक गरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘प्रतिवद्धता र चुनावी एजेण्डा बुझाउन अहिले हामी विशेष अभियानमा छौँ ।’ थापाले पार्टीका तर्फबाट मतदाता भेटघाट, घरदैलो लगायतका कार्यक्रम गरेर सर्वसाधारणलाई एमालेको एजेण्डा प्रष्ट पार्ने काम भइरहेको बताउनुभयो ।

उमपेयरकी उम्मेदवार तथा नेकपा एमाले महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीले नेकपा (एमाले)ले चुनाव जित्छ र महानगरको विकास तीव्र रूपमा गर्छ भन्ने बुझेकाहरुले आत्तिएर आफूविरुद्ध उजुरी दिएको बताउनुभयो । कोसी अस्पताल विकास समितिको सदस्यमा बहाल रहेको भनेर कार्कीविरुद्ध गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिनुभएको थियो । यसअघि नै सम्बन्धित निकायमा राजीनामा दिइसकेको र आफूसँग प्रमाण रहेको भन्दै कार्कीले निशन्देह एमालेको चुनावी प्रचारमा जुट्न आग्रह गर्नुभयो । अस्पताल समितिको सदस्य रहँदा आफूले कुनै सुविधा भोग नगरेको दाबी गर्दै उहाँले महानगरको उपमेयरमा निर्वाचित भएपछि पनि सेवाभावका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । एमालेले आफूलाई जनताको सेवा गर्न उम्मेदवार बनाएको कार्कीको कथन छ ।

प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा विराटनगर महानगरपालिकाको १९ वटै वडामा एमालेले उठाएका वडाध्यक्षका तथा सदस्यका उम्मेदवारको परिचय पनि गराइएको थियो । त्यस अवसरमा विराटनगर महानगरको चुनावका लागि दुई हजार एक सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी पनि घोषणा गरेको छ ।

कमिटीको संयोजकमा एमाले नेता विनोद ढकाल रहेका हुनुहुन्छ । कमिटीमा विराटनगरमा उपलब्ध पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय सल्लाहकार कमिटी सदस्य, मोरङ जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, महानगर कमिटीका सदस्य र १९ वटै वडा कमिटी तथा कमिटीको मातहातमा रहेको टोल कमिटीका सदस्यहरू निर्वाचन परिचालन कमिटीमा रहेका छन् ।