अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्ध नेपाल : सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अध्यक्ष ओलीको आग्रह

समृद्ध नेपाल : सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अध्यक्ष ओलीको आग्रह


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल: सुखी नेपाली बनाउने राष्ट्रिय आकाँक्षालाई साकार पार्नका लागि सङ्कल्पित भएर लागिरहेको बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उहाँले पार्टीको घोषणापत्र र स्थानीयका प्रतिबद्धता उक्त सङ्कल्प भएको हुँदा काठमाडौँवासीका मतदातासँग आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्नुभयो ।

“एमाले देश बनाउन र सुशासन कायम गर्न हिँडेको छ, नातावाद, कृपावादका लागि यो पार्टी होइन”, अध्यक्ष ओलीले भन्नुभयो, “महानगरपालिका गौरवमय संस्कृतिका पक्षहरु, भौतिक, मानवीय र सांस्कृति सम्पदाको रक्षा गर्न जरुरी छ, त्यसका लागि एमालेलाई मतदान गरेर विजयी गराउनुस् ।” उहाँले काठमाडौँ महानगरमा अनुभव र उत्साह कायम भएका नेता केशव स्थापितलाई महानगरको प्रमुखमा उठाएको र उहाँले काठमाडौँका समस्याको समाधान र विकासमा पूर्णरूपमा ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

महिला हिंसाविरुद्धमा एमाले सदा रहेको र महिलालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँले थप्नुभयो, “महिला अब चुलाचौकामा मात्र छैनन्, बाहिर निस्किएका छन् डरपोक हुने होइन, महिला अस्मितालाई अवमूल्यन गर्न वा होच्याउन कसैले पनि पाउँदैन ।”

उहाँले काठमाडौँका जनताले नेपालको राजनीतिक परिर्वतनमा १९९७ सालमा चार सहिदले राणा शासनका विरुद्ध आफ्नो बलिदान दिएको चेतनाको इतिहास स्मरण गर्दै भन्नुभयो, “काठमाडौँका चार सहिदले सुशासन र विकासको बिगुल फुकेको ८२ वर्ष भइसकेको छ, अहिले पनि त्यो चेतनाको बिगुल कायम छ ।” उहाँले आधुनिक विकास, लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न यस्तो भावना लिएर आएको उम्मेदवारलाई भोट हाल्न आग्रह गर्दै  स्थानीय तहको घोषणापत्रमा कामको कार्यसूचीसमेत उल्लेख बताउनुभयो ।

कार्यक्रममा प्राडा रमेश भट्टराई, श्रीधर पोखरेल, उत्तम शर्मा, अनिल पोखरेललगायत एमालेमा प्रवेश गर्नुभएको थियो ।