अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले गौरादहको प्रतिवद्धता पत्र -छोरी बुहारीलाई स्नातकसम्म निशुल्क शिक्षा,किसानलाई घरघरमा बोरिङ

एमाले गौरादहको प्रतिवद्धता पत्र -छोरी बुहारीलाई स्नातकसम्म निशुल्क शिक्षा,किसानलाई घरघरमा बोरिङ


गौरादह – नेकपा एमाले गौरादहले आफ्ना उम्मेद्वारहरुले चुनाव जितेमा गौरादहका छोरी बुहारीलाई स्नातकसम्मको शिक्षा दिने जनाएको छ । नगर कमिटीले आज सावर्जनिक गरेको स्थानीय चुनाव लक्षित प्रतिवद्धता–पत्रमा उक्त कुरा उल्लेख छ ।

कृषि, रोजगार र शिक्षालाई केन्द्रमा राखेर तयार पारिएको प्रतिवद्धता–पत्रमा छोरी बुहारीलाई निःशुल्क स्नातक तहसम्मको शिक्षालाई महत्व दिइएको छ । तरकारी, दूध, माछा–मासुमा किसानलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने प्रतिवद्धता–पत्रमा लेखिएको छ ।

कृषि उद्यमको स्थापना गरेर थप एक हजार जनालाई रोजगार सिर्जना गर्नेमा जोड दिएको प्रतिवद्धता–पत्र बेरोजगारी समस्या हटाउन बिभिन्न विकल्पका बारेमा सम्वेदनशिल देखिएको छ ।

वडा–वडामा एम्बुलेन्स, आपतकालिन हटलाईन सेवा, प्रत्येक नागरिकका घरमा सफा पिउने पानी, बिजुली, नगरभित्र बीमा सुविधासहितको स्वास्थ्य सेवालगायत विषय प्रतिवद्धता–पत्रमा उठाइएको छ ।

शिक्षाको हकमा एमालेका केही फरक प्रतिवद्धता छन् । स्थानीय पाठ्यक्रम निर्माण गर्ने योजना राखेको एमालेले महिला तथा छात्रालाई निःशुल्क शिक्षामा जोड दिएको छ । स्नातक गरेर नगरभित्रै बेरोजगार बसेका महिलालाई नगरभित्रै रोजगार सिर्जना गर्नेमा एमाले मार्गचित्र कोरेको छ ।

नगर सुरक्षाका लागि सिसी क्यामेरा, नगर प्रहरी र नगर सुरक्षाबारे प्रष्ट लेखिएको प्रतिवद्धता–पत्रमा विकास निर्माण छुटेको छैन । थप ४५ किमी सडक कालोपत्रे गर्ने एमालेको योजना छ ।

एमालेको योजनामा नगरपालिकामा अव्यवस्थित बसोबास तथा भूमि सम्बन्धी समस्याको पूर्ण समाधान गरिने पनि उल्लेख छ । नगर आयोजना आयोग बनाएरै नगरको विकासको लागि सकारात्मक ढोका खोल्ने एमालेले योजना बनाएको छ ।

हजार किसानका घरमा बोरिङ जडान गर्ने र कृषकलाई व्यवसायिक खेतीमा सहयोग गर्ने, कृषकले गरेको उत्पादनको मूल्यमा सचेत देखिएको एमालेले बजार खोज्न सहयोग गर्ने समेत प्रतिबद्धता पत्रमा लेखिएको छ ।

प्रतिवद्धता सार्वजनिक गर्ने कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की, जिल्ला अध्यक्ष दिपक कार्की, नगरप्रमुखका उम्मेदवार छत्रपति सुवेदी, उपप्रमुखका उम्मेदवार जलवर्षा राजवंशी लगायतको उपस्थिति थियो । प्रतिवद्धतापत्र सार्वजनिक गरेको केही घण्टा पछिदेखि नै एमाले गौरादहले निर्वाचन केन्द्रित घरदैलो अभियान पनि सुरु गरेको छ ।

गौरादह नगरपालिका वडा नं। ९ बाट सुरु भएको घरदैलो अभियानमा नगरप्रमुख पदका उम्मेदवार सुवेदी, उपप्रमुख पदका उम्मेदवार राजवंशी, ९ नम्बर वडा अध्यक्षका उम्मेदवार उप्रेन्द्र निरौला, चारैजना वडा सदस्यका उम्मेदवारहरु सहित नेता, कार्यकर्ताहरु अभियानमा लागेका थिए ।

घरदैलोको क्रममा गौरादह ९ का स्थानीयले उल्लेखनीय उल्लास देखाएको पार्टीका नगर कमिटीका अध्यक्ष मित्रदेव काफ्लेले जानकारी दिनुभयो ।