दमक – सत्ता रूढ दलले पाँच दल बाहेक गरिएको गठबन्धन खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयले दमकमा राप्रपासहितको गठबन्धन संकटमा परेको छ । तर स्थानीय नेताहरूले भने गठबन्धन नतोडिने बताएका छन् ।
सत्ता गठबन्धनले भने कारबाही गर्ने चेतावनी दिएको छ । आज बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँच दलीय बैठकले गठबन्धन भन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ ।
पाँच दलका शीर्ष नेताहरूको बैठकले गठबन्धनबाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय पनि गरेको छ । तर, झापाको दमक नगरपालिका र कचनकबल गाउँपालिकामा भने अन्य दलसँगको तालमेल कायमै राख्ने स्थानीय नेताहरूले बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा पाँच दलीय गठबन्धनले राप्रपासँग तालमेल गरेर मेयर राप्रपालाई दिएको छ । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका कचनकबलमा कांग्रेस र एमालेले तालमेल गरेका छन् ।
स्थानीय तहमा जो कमजोर छ कमजोरहरू मिलेर बलियोसँग लड्नका लागि कसैले रोकेर नरोकिने माओवादी केन्द्र प्रदेश १ का कोषाध्यक्ष गगन पुरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘दमकमा हामीहरू कमजोर र एमाले बलियो छ, एमालेलाई हराउनका लागि हामीले गरेको तालमेल केन्द्रले जे जे भने पनि भंग हुँदैन ।’
नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेले अन्तिम समयमा आएर केन्द्रले जे निर्णय गरे पनि आफूहरू पछाडि नहट्ने बताउनु भयो । उहाँले स्थानीय आवश्यकताका आधारमा गरिएको तालमेल कायमै रहने बताउनु भयो ।
कांग्रेस सभापति थेबेले भन्नुभयो, ‘समय हुँदासम्म केन्द्रका नेताहरू कहाँ थिए ? अब हामी पछाडि हट्दैनौ हाम्रो चुनावी तालमेल अगाडी बढी सक्यो । एक हिसाबमा भन्ने हो भने दमक नगरपालिकामा नगर प्रमुख र केचना कवलमा गठबन्धनको उपाध्यक्षको उम्मेदवार छैन के गठबन्धनले उम्मेदवारी खाली राख्दैमा अन्य दलसँगको तालमेल भन्ने हुन्छ र ?’







प्रतिक्रिया