अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगले भन्यो : उम्मेदवारी फिर्ता गराउन धरपकड नगर

निर्वाचन आयोगले भन्यो : उम्मेदवारी फिर्ता गराउन धरपकड नगर


काठमाडौं – निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ।

आयोगले एक विज्ञप्तिमार्फत यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने स्पष्ट पारेको छ ।

आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ ।

संविधान र कानुन बमोजिम योग्यता पुगेका नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक अधिकार रहेको भन्दै आयोगले उम्मेदवारलाई धाक, धम्की र प्रलोन दिनु लोकतन्त्रमाथिकै आघात भएको बताएको छ ।

आयोगले आफूलाई उम्मेदवारी फिर्ता लिन इच्छा लागेमा राजीखुशीले मात्रै फिर्ता लिनसक्ने व्यवस्था रहेको जनाएको छ । कुनै दलको तर्फबाट मनोनयन पत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिने गरी लिखित रुपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने भन्दै आयोगले यस बाहेकको अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने स्पष्ट गरेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिबद्ध रहेको पनि जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति