काठमाडौं – नेकपा माओवादी केन्द्रको तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बन्नु भएका रामशरण डंगोल नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका डंगोललाई एमालेका मेयर उम्मेदवार केशव स्थापितले पार्टीमा प्रवेश गराउनु भएको हो । पार्टी प्रवेशसँगै एक विज्ञप्ति जारी गर्दै उहाँले माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको आरोप लगाउनु भयो ।
डंगोल भन्नुहुन्छ, ‘म २०४३ सालदेखि निरन्तर वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएको र वामपन्थी आन्दोलनको माध्यमबाट मात्रै मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने दृढ अठोट बोकेको व्यक्ति हुँ । मेरो जीवनका महत्त्वपूर्ण र ऊर्जाशील समय मैले वामपन्थी आन्दोलनमै सक्रिय भएर बिताएको स्मरण गराउन चाहन्छु ।’
गठबन्धनका नाममा कांग्रेसलाई वडाध्यक्ष दिइएपछि आफूले राजीनामा दिएको उहाँले बताउनु भयो । डंगोल भन्नुहुन्छ– ‘मैले आज मेरो वडाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले )को तर्फबाट उम्मेदवार बन्नुभएका कमरेड ध्रुवनारायण मानन्धरलाई समर्थन गर्ने गरी नेकपा माओवादी केन्द्रका सबै जिम्मेवारीबाट अलग भई नेकपा (एमाले) प्रवेश गरेको जानकारी गराउँछु ।’







प्रतिक्रिया