इटहरी– इटहरी पूर्वको सुन्दर सहर इटहरी । प्रदेश नं १ का दुईवटा उपमहानगर मध्ये एउटा उपमहानगर इटहरी । पूर्वपश्चिम राजमार्गको निर्माण भइसँगै बसेको यो सहर अहिले घनावस्तीको सहर बनेको छ । बहुदलीय व्यवस्थाको सुरुवात देखी नै एमालेतर्फको रुझान भएको इटहरी ‘एमालेको गढ’को रुपमा चिनिन्छ । यसवर्षको स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई पराजित गरेर गढ थप बलियो. बनाउने ध्यान्नमा छन् यहाँका एमालेका नेता कार्यकर्ता ।
एमालेले नगरका पुराना नेता याम सुब्बालाई मेयरका लागि अघि सारेका छन भने उपमेयरमा संगिता चौधरीलाई अघि सारेको छ । गठबन्धनले कांग्रेका हेमकर्ण पौडेललाई मेयर र नेकपा (एस)बाट केशव विष्टलाई उपमेयरको रुपमा अघि सारेको छ । तर एमालेको जुझारु संगठन र यो सहरको पुस्तौनी रुझानले एमाले भन्दा बाहिर यहाँको नेतृत्व आउन नसक्ने मतदाताहरुको भनाइ छ ।
उम्मेदवारीले जित्ने आधार भइसक्यो
नेपालको संविधानले स्थानीय तहका दुई प्रमुख पद मध्ये एउटामा महिला हुनैपर्ने अनिवार्यता गरेको छ । तर गठबन्धनका नाममा देशका धेरै स्थानीय तहमा जस्तै इटहरीमा पनि महिलाको हक खोसिएको छ । ५० प्रतिशत भन्दा बढी महिला मतदाता भएको यस उपमहानगरमा गठबन्धनले महिलालाई पन्छाउँदै दुवै पदमा पुरुषलाई उम्मेद्वार बनाएको छ ।
तर एमालेले संविधानको यो व्यवस्थालाई पूर्णत पालना गरेको छ । मेयरमा पुरुष र उपमेयरमा महिला उम्मेद्वार बनाएर । ‘उम्मेद्वारी मनोनयनसँगै एमालेको पक्षमा लहर बढ्यो’ प्रेस चौतारी सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेल भन्नुहुन्छ ‘महिला हकका मिठा कुरा गर्ने माओवादी र काँग्रेसले संविधानको वर्खिलाप हुने गरी मेयर उपमेयरमै पुरुष उम्मेद्वार बनाए । एमालेले महिलाको हकलाई सुनिश्चित गरिदयो । त्यसले पनि हामीलाई मनोवैज्ञानिक रुपमा बलियो बनाएको छ ।’
उम्मेद्वारी छनौटका क्रममा सहरी क्षेत्रमा भौगोलिकतालाई पनि प्राथमिकताका साथ लिने गरिन्छ । अझ छुट्टै अस्तित्व भएका गाविसहरु नगरपालिकामा गाभिएर उपमहानगर बनाउन सहयोग गरेपछि ऐन मौकामा आउने अवसरमा ति ग्रामिण क्षेत्रले आफ्नो हिस्सा खोज्छन् नै । इटहरीलाई नगरबाट उपमहानगर बनाउन जनसंख्या,राजश्व,भूगोल,शैक्षिक संस्था,स्वास्थ्य संस्था आदिबाट योगदान गरेका तत्कालिन चारवटा गाविस भावनालाई सम्बोधन गरेको छ । इटहरीमा खनार,पकली,हाँसपोसा र एकम्मा गाविस गाभिएर उपमहानगर भएको हो ।

एमालेले इटहरीको भौगोलिक,जातीय र लैंगिक मनोविज्ञानलाई बुझेर सन्तुलित उम्मेद्वारी दिएको प्रदेश कमिटी सदस्य रामप्रसाद चौलागाईं बताउनुहुन्छ । ‘ मेयरको उम्मेद्वार याम सुब्बा सहरी क्षेत्रको जनजाती पुरुष हुनुहुन्छ भने उपमेयरको उम्मेद्वार संगिता चौधरी ग्रामिण क्षेत्रको,चौधरी समुदायको र महिला हुनुहुन्छ’ चौलागाईं भन्नुहुन्छ ‘हाम्रो यस प्रकारको सन्तुलनले गठबन्धनलाई परास्त गर्न सहज छ ।’ गठबन्धनले दुवै पदमा पुरुष उम्मेद्वार दिएको छ । त्यसमा पनि सहरी क्षेत्रका ।
एमालेले इटहरीमा लाल झण्डा गाड्ने अनेक आधार भएको प्रदेश ससभा सदस्य सर्वध्वज साँवा बताउनुहुन्छ । साँवाका अनुसार देशैभरीका नगर कमिटी मध्येमा पनि इटहरीको एमाले संगठन बलियो छ । यो उपमहानगरमा २सय ७० वटा एमालेका टोल कमिटीहरु छन् । पार्टीका १८ वटा जनसंगठनका टोल स्तरीय कमिटीहरु छन् । मेयरका उम्मेद्वार सुब्बा १२ वर्ष देखि पार्टीको उपमहानगर अध्यक्ष हुनुहन्छ । ‘मेयरका उम्मेद्वारको नाम र काम इटहरीका जनताका लागि नयाँ होइन’ साँवा भन्नुहुन्छ ‘जनतामा भिजको मान्छेलाई हामीले मेयरमा उठाएका छौं । त्यसैले जनताको छनौटमा याम सुब्बा पर्ने कुरामा दुईमत छैन ।’
जुझारु संगठन र यो सहरको पुस्तौनी रुझानले एमाले भन्दा बाहिर यहाँको नेतृत्व आउन नसक्ने मतदाताहरुको भनाइ छ ।
वडाध्यक्ष चयन गर्दा पनि पार्टीले समावेशीतालाई विशेष ध्यान दिएको साँवाको भनाइ छ । यहाँका २१ वटा वडा मध्ये ८ वटामा क्षेत्री बाहुन,१० वटामा थारु र ३वटामा जनजाती उम्मेद्वार उठाइएको छ ।

त्यती मात्र होइन नेकपाको एकता भंग भए पछि माओवादीका धेरै नेता कार्यकर्ता एमालेमै बसे । अघिल्लो निर्वाचनमा माओवादी पार्टीबाट उपमेयरका उम्मेद्वार सागर सुवेदी (भीम) एमाले मै बस्नुभएको छ । हाल एमाले प्रदेश कमिटी सदस्य सुवेदीका अनुसार एकता भंग भएपछि करिब ६० प्रतिशत माओवादीका नेता कार्यकर्ता एमालेमा छन् । लामो समय माओवादीको सुनसरी इन्चार्ज रहेका हिमाल सुवेदी पनि अहिले एमालेमा हुनुहुन्छ । गत निर्वाचनमा इटहरीमा माओवादीले एउटा मात्र वडा सदस्य जितेको थियो । विजयी वडा सदस्य रामनारयाण चौधरी पनि केही दिन पहिले एमाले प्रवेश गर्नुभएको छ । ‘माओवादीमा भएका केही मत अहिले पनि हामी एमालेमा तान्न सक्छौं’ सुवेदी भन्नुहुन्छ ‘नेकपा एसमा गएका मतको पुरताल मात्र होइन ठूलो संख्यामा मत थप्ने काम पूर्व माओवादीबाट हुन्छ ।’ हिजो भएको गठबन्धनको पुनर्विचारमा माओवादीलाई मेयरबाट उम्मेद्वारी फिर्ता गर्न लगाएर एउटा वडाध्यक्षमा खुच्याएपछि माओवादी पनि रुष्ट बनेको छ ।
१ लाख ९८ हजार ९८ जनसंख्या भएको इटहरीमा मतदाता संख्याचाँही १ लाख ४ हजार ६ सय २६ रहेको छ । अघिल्लो पटक यो उपमहानगरमा ७७ हजार ६ सय ७७ जना मतदाता रहेका थिए । उक्त चुनावमा एमालेका द्ध्वारिकलाल चौधरीले मेयरमा २७ सय मतको अग्रताले विजयी हुनुभएको थियो भने उपमेयर लक्ष्मी गौतम २३०० मतको अग्रताले विजयी हुनुभएको थियो ।
प्रदेश कमिटी सदस्य चौलागाईंका अनुसार चौधरीको कार्यकालमा इटरहीको विकास र सुशासनमा उल्लेख्य काम भएका छन् । ती विकास निर्माणका कामले एमालेका अहिलेका उम्मेद्वारलाई चुनाव जित्न सहज हुनेछ । ‘अघिल्लो कार्यकालमा हामीले सहरलाई गाउँ पसाउने अभियान अन्तरगत धेरैवटा ग्रामिण सडक निर्माण गर्यौं’ चौलागाईं भन्नुहुन्छ ‘ग्रामीण उत्पादनलाई सहरमा ल्याएर बिक्री गरेर जिविका गर्ने आधारहरु दियौं । ’
इटरही चलायमान जनसंख्या भएको सहर हो । पूर्वी पहाडबाट बसाईं सरेर आउनेहरुको गन्तव्य हो इटरही । त्यसैले यहाँ हरेक चुनावमा नयाँ अनुहारका मतदाता देखिन्छन् । यो कुराको विष्लेषण एमालेले गरेको छ । नेता चौलागाईंका अनुसार चलायमान र मिश्रित जनसंख्या भएको इटहरीका बासिन्दा विकासमा द्रुतता चाहन्छन् । त्यो चाहना पूरा गर्ने नेतृत्व एमालेसँग मात्र छ भन्ने कुरा यहाँका मतदाताले बुझेका छन् । त्यस्ता मतदाताले गतिशिल र उर्जावान नेतृत्व चाहेका हुन्छन् । ‘यो सहरका मतदातको मनशाय बुझेर नै हामीले उर्जावान,क्षमतावान र सबैको जानपहिचानका उम्मेद्वारहरु अघि सारेका छौं ’ चौलागाईंले भन्नुभयो ।
युवा नेता काशिनाथ दंगाल यो सहरका सचेत बासिन्दाले राष्ट्रिय राजनीतिको समेत मुूल्यांकन गरेर मतदान गर्ने बताउनुहुन्छ । ’अहिले देशमा नेकपा एमाले र केपी ओलीको पक्षमा माहोल छ’ दंगाल भन्नुहुन्छ ‘अरु दल कांग्रेसका सहायक हुन् । जसको न कुनै एजेण्डा छ न आकर्षण । त्यसैले यहाँका युवा मतदातको रोजाइमा पनि एमाले र सूर्य चिन्ह नै पर्दछ ।’
पहिलो पटक मतदान गर्न लागेका युवा सुनिल कार्की पनि केपी ओलीप्रति युवाको ठूलो क्रेज रहेको बताउनुहुन्छ । ‘युवाहरु यहाँका उम्मेद्वारका अलावा केपी ओलीले गर्न लागेका काम हेरेर पनि सूर्यमा मतदान गर्छन् ’ कार्कीले भन्नुभयो ।





प्रतिक्रिया