काठमाडौं – नेकपा (माओवादी केन्द्र) बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गरेपछि नेकपा (एमाले)मा प्रवेश गरेका तेन्जिन छेसाङ तामाङको उम्मेदवारी कायम रहेको छ ।
उहाँले वैशाख १२ गते माओवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो । त्यसपछि वैशाख १५ गते एमालेमा प्रवेश गनुभएको थियो । तर, उहाँले उम्मेदवारी भने फिर्ता लिनुभएन । निर्वाचन आयोगले वैशाख १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो ।
फिर्ता नलिएको भए पनि पार्टी नै परिवर्तन गरेपछि अब त्यसको कुनै अर्थ नभएको तामाङको भनाइ छ । ‘मैले कार्यालय गएर उम्मेदवारी फिर्ता लिएको छैन,’ उहाँले भन्नुभयो ‘पार्टी नै परिवर्तन गरेकाले म निर्वाचनमा उम्मेदवारको रूपमा सहभागी हुँदिन ।’
उहाँले उम्मेदवारी फिर्ता नलिएकाले यथावत रहेको रसुवाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो । ‘उहाँले उम्मेदवारी फिर्ता लिनु भएको छैन । कानूनी रुपमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिन पाउनुहुनेछ,’ नेपालले भन्नुभयो ।
माओवादीका गोसाइँकुण्ड गाउँपालिकाका इन्चार्ज समेत रहनुभएका तामाङ एमालेमा प्रवेश गरेपछि माओवादीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार छैनन् । अब नेपाली कांग्रेस, एमाले सहित विभिन्न दलका ६ उम्मेदवार अध्यक्षका लागि प्रतिस्पर्धा छन् ।
प्रतिक्रिया