अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगर महानगर जित्ने पालो यसपाली एमालेको हो

विराटनगर महानगर जित्ने पालो यसपाली एमालेको हो



सागर थापा
नेकपा एमाले
मेयरका उम्मेद्वार, विराटनगर महानगरपालिका

३० वर्षदेखि विराटनगरको राजनीतिमा अनवरत रुपमा लागेका सागर थापा अहिले विराटनगर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उमेदवार हुनुहुन्छ ।
अनेरास्ववियुबाट राजनीति सुरु गर्नु भएका थापा महेन्द्र मोरङ क्याम्पस विराटनगरमा दुई पटक स्ववियु सभापतिमा निर्वाचित हुनु भयो । त्यस ताका आफ्ना प्यानलका सबै उम्मेद्वारहरु पराजीत हुँदा पनि उहाँ एक्लै सभापतिमा निर्वाचित भएपछि चर्चा चुलिएको थियो । विराटनगरमा स्थापित नामका रुपमा परिचित सागर थापा विभिन्न सामाजिक कार्यमा जोडिँदै नेकपा एमालेको जिल्ला कामिटी सदस्य र विगत एक दशकदेखि महानगर कमिटीको नेतृत्वमा हुनुहुन्छ । हाल महानगर कमिटीको अध्यक्ष रहनु भएका थापा मेयरको भएपछि महानगर बनाउने उहाँका भावी योजना के छन् त भन्ने विषयमा गरिएको संक्षिप्त कुराकानी
विराटनगर महानगरपालिकामा तपाईंले जित्ने आधार के के हुन् ?
विराटनगरमा २०४३ सालमा जनपक्षीय उम्मेद्वारले जिते । त्यसपछि बहुदलीय व्यवस्थामा २०४९ सालको स्थानीय चुनावमा नेकपा एमालेले चुनावमा धाँधली भएपछि बहिस्कार गर्दा सम्मानजनक मत ल्याएको र २०५४ सालमा एमालेले विजय हासिल गरेको थियो । फेरी २०७४ सालमा काँग्रेस विजयी बन्यो । यो हिसाबले हेर्दा अब जित्ने पालो हाम्रो हो । यो परम्परागत कुरा भए । यस पटक भने हामी विराटनगरलाई समृद्ध बनाउने, श्रमजीविका सवालहरुलाई उठाउँदै सम्बोधन गर्ने, यहाँ उद्योगी व्यवसायीको हित प्रवद्र्धन गर्दै रोजगारमूलक सहर बनाउने र भ्रष्टाचारमुक्त नगर बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्ने हाम्रो एजेन्डा छ । त्यसैले पनि हामी चुनाव जित्छौँ । सँगसगै हामीसँग दर्विलो संगठन, विशाल कार्यकर्ताको पंक्ति र आम विराटनगरबासीको साथ र सहयोग छ ।
विराटनगर औद्योगिक सहरको रुपमा परिचित छ । तर पछिल्लो समय यसको साख गिर्दै गएको छ । यहाँको उद्योग व्यवसायलाई पुनर्जीवित गर्न र गुमेको साख फर्काउन तपाईंको कस्तो प्रयत्न रहन्छ ?
नेपालको जेठो उद्योग विराटनगर जुट मिल स्थापना भएसँगै विराटनगरको पहिचान औद्योगिक सहरको रुपमा स्थापित भएको हो । विराटनगर कुनै समय उद्योग नै उद्योगको सहर थियो । यहाँको उद्योग कलकारखानाका कारण विराटनगर आर्थिक रुपले पनि सम्पन्न थियो । तर पछिल्लो समय उद्योगी व्यवसायीहरु पलायन हुने र यहाँको उद्योगहरु धरासयी बन्न थाले । हामी उद्योगलाई पुनर्जीवित गर्दै विराटनगरमा औद्योगिक क्षेत्र बनाउने उद्योगहरुलाई उद्योग खोल्ने वातावरण बनाउँछौँ । विराटनगरको करलाई उद्योगी व्यवसायीमैत्री बनाउछौँ । उद्योगीहरुलाई सम्मान र अभिनन्दन गर्ने कार्यक्रम ल्याएर प्रोत्साहन गर्छाै । सेवालाई डिजिटलाइजेसन गर्दै झण्झटमुक्त प्रशासन बनाउने छौँ ।
उद्योगी व्यवसायीलाई परेका हरेक समस्यामा हामी केन्द्रीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर औद्योगिक वातावरण बनाउने छौँ । विराटनगरमा एउटा भव्य प्रदर्शनी स्थल बनाउने प्रतिबद्धतासहित हामी अघि बढेका छौँ ।
शिक्षा र स्वास्थ्यमा तपाईंको योजना के हो ?
हामी सार्वजनिक विद्यालयलाई स्तरोन्नती गर्दै गुणस्तरीय शिक्षालय बनाउछौँ । निजी विद्यालयसँगको सहकार्यलाई प्रभावकारी बनाउँछौँ । सबै खालका शैक्षिक संस्था खोल्न र त्यसलाई गुणस्तरीय बनाउन हामी ठोस योजनाका साथ अघि बढ्छौँ । समुदायिक विद्यालयमा व्यवस्थित छात्रा शौचालय र निशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने छौँ । विराटनगरमा भइरहेका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई व्यवस्थित गर्दै मेट्रो अस्पताल निर्माण गर्ने छौँ । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने छौँ । नि:शुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउने छौँ ।
सुशासनका लागि तपाईंको प्रयत्न र प्रतिबद्धता के हुने छ ?
विराटनगरलाई सुशासनयुक्त बनाउन चुस्त र दुरुस्त कर्मचारी प्रशासन बनाइने छ । भइरहेका करार र सबै खाले कर्मचारीको स्थायित्व गर्दै उनीहरुलाई प्रोत्साहन नीतिमार्फत काममा लगाइने छ । विराटनगर भित्र भएका सबै कर्मचारीहरुलाई नयाँ उर्जाका साथ काम गर्ने वातावरण तयार गर्दै कर्मचारी र जनप्रतिनिधिबीचको समन्वयलाई प्रभावकारी बनाइने छ । लामो समयदेखि सेवा गरिरहेका कार्मचारीलाई सम्मान र नयाँ कर्मचारीलाई प्रविधियुक्त तालिम दिएर प्रोत्साहन गर्ने काम अगाडि बढाउने छौँ । भ्रष्टाचारमा मात्र नभइ ढिलासुस्तीमा समेत सुन्य सहनशिलता अपनाउने छौँ ।
विराटनगरका सुकुम्बासी समस्या समाधान कसरी गर्ने योजना छ ?
विराटनगरमा रहेका सबै सुकुम्बासीहरुको घर निर्माणलाई प्राथमिकता दिँदै सबैको घर निर्माण गरिने छ । कुनैपनि सुकुम्बासी परिवार घरबारविहिन हुने छैनन् । विराटनगरमा रहेका सुकुम्बासी बस्तीहरुलाई सडक, विद्युत, खानेपानी पुर्याउने कार्यलाई तीव्रता दिइने छ ।
विराटनगरको मुख्य समस्या डुबान हो । यसलाई नियन्त्रण गर्नको लागि तपाईंको योजना कसरी अघि बढ्छ ?
हामी डुबान क्षेत्रको पहिचान गरि त्यसलाई ठोस योजना बनाएर अघि बढ्छौं । डुबान मुक्त हुनका लागि ढलहरुको निर्माण र खोलाहरुमा तटबन्ध र त्यस छेउका बस्तिको व्यवस्थापन गर्छौं ।
योजना कार्यान्वयन गर्नको लागि बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
संघीय तथा प्रदेश सरकारसँगको समन्वय र अनुदानहरु, दातृ निकायसँगको सहकार्य र आन्तरीक स्रोतहरुको पहिचान र करका नयाँ क्षेत्रहरु खोजि गरि स्रोतको व्यवस्थापन गरिनेछ ।