काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मजदुर दिवशको गौरवशाली इतिहासको विरासत एमालेसँग रहेको बताउनुभएको छ ।
अन्तराष्ट्रिय मजदुर दिवशको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै अधयक्ष ओलीले आफ्नो सरकारले मजदुर वर्गको हक हितका लागि थुप्रै कामम गरेको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ राणशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत हाम्रो पार्टी नेकपा (एमाले) सँग छ । हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशील नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) त्यही गौरबशाली आन्दोलनको वाहक नेपालको पहिलो मजदुर आन्दोलनको निरन्तरता हो ।
अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशको पूर्ण पाठ यस प्रकारका छ ः
मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हामीले वितेका १ सय ३२ वर्षदेखि मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छौँ । काम गर्नेमाथि काम लगाउनेहरुको ज्यादतिका विरुद्ध सन् १८८६ मा अमेरिकाको सिकागोमा पहिलो संगठित मजदुर आन्दोलन भएको थियो । त्यस आन्दोलनमाथि भएको चरम दमनको स्मरण गर्दै आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आरामको माग सहित सन् १८९० देखि विश्वभरी श्रमिक दिवस मानाउँदै आएका छौँ ।
पहिलो पटक वाष्प इन्जिनको आविस्कार र औद्योगिक युग सुरु भएपछि फ्रान्सको लियोँ शहरमा सन् १८३१ मा पहिलो मजदुर आन्दोलन भएको थियो । त्यसको ८८ वर्षपछि सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठन बन्यो । त्यसको ४७ बर्षपछि मात्र नेपालले त्यसमा प्रवेश पायो । श्रमिक, रोजगारदाता र सरकारको त्रिपक्षीय संलग्नता रहने अन्तर्राष्ट्रिय श्रम संगठनको नेपाल कार्यालय नेकपा (एमाले) नेतृत्वको अल्पमतको सरकार बनेपछि स्थापना भयो ।
नेपालमा विसं २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत हाम्रो पार्टी नेकपा (एमाले) सँग छ । हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशील नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) त्यही गौरबशाली आन्दोलनको वाहक नेपालको पहिलो मजदुर आन्दोलनको निरन्तरता हो । एशियाका प्रभावशाली ट्रेड युनियनहरु मध्येमा गणना हुने जिफण्ट नेपालमा राष्ट्रिय मान्यता प्राप्त सबैभन्दा प्रतिनिधिमुलक शसक्त पहिलो ट्रेड युनियन महासंघ हो ।
नेकपा (एमाले) त्यस्तो पार्टी हो, जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारहरुलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम ग¥यो । हाम्रो पार्टीको अगुवाईमा संविधानसभाद्वारा निर्मित नेपालको संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकार सुनिश्चित गरेको छ । नयाँ श्रम ऐन मार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताहरुका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी हाम्रो पार्टीले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र संघर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको छ ।
नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरुको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाएको छ । विगतका वर्षमा हाम्रो सरकारले उद्यमी तथा श्रमिक दुबै पक्षबीच उच्च समझदारी कायम गरेको थियो । त्यही समझदारीका कारण श्रमिकको
न्यूनतम पारिश्रमिक इतिहासमै उच्च, ३९ प्रतिशतले बृद्धि भएको थियो । त्यसले नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हडताल र तालाबन्दीको समस्या अन्त्य भएको थियो । फलस्वरुप हाम्रो अर्थतन्त्रले तीब्र विकासको लय समातेको थियो । हाम्रै सरकारले श्रमिकको पारिश्रमिक बंैकमार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवात ग¥यो । कोभिड–१९ महामारीको बेला सामाजिक सुरक्षा कोषमा आवद्ध सम्पूर्ण श्रमिकहरुको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था ग¥यो ।
यस बीचमा संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा (एमाले)लाई सरकारबाट हटाइयो । यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पु¥यायो । सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रम जीवन निर्माणको हाम्रो गन्तव्यमा परमादेशको दुश्प्रयासले अल्पविराम लगाए पनि यसले हाम्रा पाइलाहरुलाई सधैंका लागि रोक्न सक्ने छैन । आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनस्र्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौँ । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवसको जिफण्टको नारा– ‘हाम्रो मत सूर्यमा, श्रमशक्तिको विकास र समृद्धिको पक्षमा’ सामयिक छ । यसले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुको साथ रहने कुरालाई अभिव्यक्त गरेको छ भन्ने मेरो विश्वास छ ।
अन्त्यमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख र समृद्धि तथा सम्मानित जीवनको पुनः शुभकामना व्यक्त गर्दछु ।
१८ बैशाख २०७९ केपी शर्मा ओली
(१ मे २०२२) अध्यक्ष





प्रतिक्रिया