काठमाडौं – काठमाडौं महानगरपालिकाका उपमेयर उम्मेदवार सुनिता डंगोलले आफूले जितेको खण्डमा श्रमिक महिलाहरूलाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेकपा एमालेबाट उम्मेदवार बन्नु भएकी उहाँले निर्वाचित भएमा महिला र पुरुषबीच ज्यालामा हुने विभेद हटाउने समेत बताउनुभयो ।
श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डंगोलले आफू निर्वाचित भए महिनावारी भएका बेला महिलाहरूलाई कार्यालयमा बिदा दिलाउनका लागि पहल गर्ने पनि वाचा गर्नुभयो ।
डंगोलले भनुनुभयो, ‘महिनावारीको पीडा महिलाले बाहेक पुरुषले राम्रोसँग बुझ्दैनन् । महिनावारीमा बिदा दिनका लागि हामी नीति–कार्यक्रम अघि सार्नेछौं । साथै कार्यस्थलमा महिलाहरु सुरक्षित महसूस गर्नुपर्छ । त्यसका लागि वातावरण बनाउने छौं ।’
उहाँले युवाको आवाज बुझेर एमालेले आफूलाई उपमेयरको उम्मेदवार बनाएको बताउनु भयो । फेरि एमालेका अध्यक्ष देशको प्रधानमन्त्री बन्नुपर्ने बताउनु भयो । डंगोलले कार्यक्रममा सांकेतिक भाषामा समेत आफ्ना कुरा राख्नु भएको थियो ।








प्रतिक्रिया