जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
एमालेबाट चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार धर्मेन्द्र रोकायाले आज चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
रोकायाले सार्वजनिक गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षा अध्ययनका लागि स्थानीय तहले व्यवस्था मिलाउने उल्लेख छ ।
घोषणापत्रमा कक्षा १-१२ सम्म अनिवार्य र निःशुल्क शिक्षा लागू गरिने उल्लेख गरिएको छ । न्यून आय भएका बालबालिकाहरुका लागि शैक्षिक राहात कोष स्थापना गरिने जनाइएको छ ।
घोषणा पत्रमा हरेक वडामा कम्युटर प्रगोगशाला, बेबी केयर सेन्टर स्थापना गरिने, एक विद्यालय एक नर्स कार्यक्रम लागू गर्ने उल्लेख छ । स्थानीय स्तरमा जैविक ग्याँस, वैकल्पिक उर्जाको अभ्यास मार्फत अनुदान गरिने, एक विद्यालय एक खेलकुद प्रशिक्षकको दरबन्दी सहितको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।
चन्दननाथ मन्दिरलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनाउने घोषणपत्रमा उल्लेख छ । चन्दननाथ मन्दिर जुम्लाको ऐतिहासिक धार्मिक स्थल हो ।
कृषिमा हरेक वडामा ठूलो शीत भण्डार स्थापना गरिने । स्याउ, ओखर, लगायत कृषिमा आधारित उत्पादनशील व्यवसाय गरिने क्षेत्रमा सिंचाइलाई प्रथामिकता दिइनेछ । यसैगरी नेकपा एमालेबाट तातोपानी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका सुरतबहादुर शाहीले पनि चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।







प्रतिक्रिया