अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको विकट लिम्चुङबुङ गाउँपालिकालाई समृद्ध बनाउने राजकुमार राईको योजना

उदयपुरको विकट लिम्चुङबुङ गाउँपालिकालाई समृद्ध बनाउने राजकुमार राईको योजना


राजकुमार राई

लिम्चुङबुङ गाउँपालिका, अध्यक्षका उम्मेदवार, उदयपुर

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट राजकुमार राई उम्मेदवार हुनुहुन्छ ।

उदयपुर जिल्लाको विकट (साविक बाँसबोटे गाविस) लिम्चुङवुङ गाविस वडा नम्बर १ मा जन्मनुभएका राईको बाल्यकाल सामान्य बित्यो । परिवारमा राजनीतिक माहोल थियो । राईका बुवा २०४९ सालमा बाँसबोटे गाविसमा वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । बुवाको राजनीतिबाट प्रभावित राईलाई पनि राजनीतिमा लाग्न सजिलो भयो ।

त्रियुगा माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका राईले २०४९ सालमा पार्टीको प्रारम्भिक कमिटीमा आवद्ध भएर काम गर्नुभयो । उच्च शिक्षा उदयपुर सदरमुकाम गाईघाटको त्रियुगा जनता बहुमुखी क्याम्पसबाट पूरा भयो । २०५१ सालदेखि सक्रिय राजनीतिमा होमिनुभएको हो । अनेरास्ववियु जिल्ला कमिटी सदस्य, उदयपुर–काठमाडौं सम्पर्क मञ्चको सचिव, आदिवासी जनजाति महासंघको जिल्ला उपाध्यक्षको नेतृत्व सम्हाली सक्नुभएको छ ।

राई राजनीति सँगसँगै सामाजिक सेवामा पनि अब्बल हुनुहुन्छ । उद्यम विकास विज्ञ कार्यक्रमको उद्यम विकास अधिकृत भएर विभिन्न जिल्लामा काम गरेको अनुभव उहाँमा छ । स्थानीय सरकारको सहयोगीका रूपमा करीब २० हजार जना बेरोजगारलाई रोजगारी सिर्जना गरी दिगोपनाको लागि ऐन नियम भिन्न आवधिक योजना र रणनीतिक योजना निर्माण गर्न उहाँको प्रत्यक्ष भूमिका रहेको छ ।

उदयपुरको सदरमुकाम गाईघाटदेखि करीब चार घण्टाको कच्ची मोटरबाटो हुँदै यस गाउँपालिका पुगिन्छ । जिल्लाको सवैभन्दा विकट गाउँपालिकाको रूपमा रहेको लिम्चुङबुङ गाउँपालिकामा विकासका पूर्वाधार पु¥याउन निकै कठिन छ । बसाईसराई र वैदेशिक रोजगारीले रित्तिएको गाउँमा युवा छैनन् । रोजगारीको सम्भावना नभएका कारण युवा विदेशिएका छन् । पाखो वारी उब्जा नभएका कारण वर्षेनी अनिकालको चपेटमा परेका यस पालिकाका जनताको हितमा काम गर्ने प्रतिवद्धता उहाँको छ । विदेशिएका युवालाई लघु उद्यमको माध्यमबाट स्वदेशमै रोजगारी सिर्जना गर्ने भनाइ उहाँको छ ।

राई भन्नुहुन्छ, ‘स्थानीय कच्चा पदार्थको प्रयोग गरेर उद्योग सञ्चालन गर्न सक्छौं, सुनकोशीको पानी ल्याई सुख्खा क्षेत्रलाई पनि हरियाली बनाउन सक्छौं, स्वास्थ्यमा भएको जटिलतालाई हटाउनका लागि यसै पालिकामा सुविधा सम्पन्न अस्पताल स्थापना गर्न प्रतिवद्ध छु, सरकारी विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारमा जोड दिनेछु ।’

साविकका पाँच गाविसहरु बाँसबोटे, बाराह, ताम्लिछा, जाँते र बलम्ता मिलाएर बनेको यस गाउँपालिकाका सबै वडाहरू विकट छन् । सवै वडाका कुनाकाप्चा पुगेर पार्टीको काम गरेका राईको जीवनशैली सामान्य छ, पार्टीका बफादार कार्यकर्ताका रूपमा छवि बनाएका राई एकपटक पालिकालाई सुन्दर र समृद्ध पालिका बनाउनका लागि आफूलाई मत दिई विजय गराउनका लागि अनुरोध गर्नुहुन्छ । लिम्चुङवुङ गाउँपालिकामा विकासको मुल फुटाउनको लागि एकपटक आफूलाई विजयी गराईदिनुहुन सवै मतदाता समक्ष उहाँको आग्रह छ ।