अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदान प्रक्रियाबारे अन्योलमा मतदाता

मतदान प्रक्रियाबारे अन्योलमा मतदाता


लमजुङ – ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ ।  

स्थानिय तह निर्वाचनमा उम्मेदवार र राजनीतिक दल यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन् । मत हाल्ने दिन नजिकिए पनि मतदाता शिक्षामा कसैले चासो नदेखाएको मतदाताको गुनासो छ ।

यसपटक फरक दलबीच गठबन्धन गरेर आ-आफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झन् बढेको हो । यस वर्ष सत्तासिन दलले छिटपुटबाहेकका स्थानीय तहमा आ-आफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने गरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको हो । लमजुङको बेसीशहर नगरपालिका-११ की पार्वती थापा पनि कसरी मतदान गर्ने भन्ने अन्योलमै हुनुहुन्छ ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा पार्वतीजस्ता धेरै मतदाता अहिले अलमलमा छन्। दुधपोखरीकी विष्णुमाया गुरुङ पनि मतदानबारे जानकार छैनन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सृजना मिश्रले यसपटक मतदाता शिक्षा कार्यक्रम नराखिएको बबताउनु भयो ।

मतदान गर्ने विषयमा विभिन्न सञ्चारमाध्यमबाट जानकारी हुने भएकाले आयोगबाट यो कार्यक्रम हटाइएको उहाँको भनाइ छ  । मतदाता शिक्षाबारे राजनीतिक दल र तिनका उम्मेदवार तथा कार्यकर्ता पनि अन्योलमै छन् । नमूना मतपत्र आइसकेको भए पनि उम्मेदवार प्रचारमै व्यस्त हुनु परेकोले मतदाता शिक्षातर्फ ध्यान दिन नपाइएको उम्मेदवारले बताउनु भयो । यसअघिको स्थानीय तह निर्वाचनमा एक हजार नौ मत बदर भएको थियो ।