अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगरमा लोकप्रिय उम्मेदवार

वीरेन्द्रनगरमा लोकप्रिय उम्मेदवार


वीरेन्द्रनगर- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा (एमाले)ले लोकप्रिय स्थानीय नेता निलकण्ठ खनाललाई उपमेयरको उम्मेदवार बनाएको छ ।

४७ वर्षीय खनाल यसअघि वडा नम्बर ४ को अध्यक्ष हुनुहुन्थ्यो । २०७४ को निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी भएका खनालले पाँच वर्षको अवधिमा वडालाई नमुना बनाउनुभएको छ । वडाको नेतृत्व कुशलतापूर्वक हाँकेका उनै खनाल अब भने नगरलाई उदाहरणीय बनाउने योजनासहित उपमेयरको उम्मेदवार बन्नुभएको छ । चुनावी प्रतिबद्धतासहित उहाँ यतिबेला मतदाताको घरदैलोमा पुगिरहनुभएको छ । साधारण जीवनशैली र सरल व्यवहार भएका खनाल मतदाताले निकै रुचाएका स्थानीय नेता हुनुहुन्छ ।

एमाले मात्र नभई उहाँलाई विपक्षी दलका कार्यकर्ताले समेत उत्तिकै मन पराउँछन् । सबैमाझ परिचित खनाल आम मतदातासँग मसिनो तरिकाले भिज्नुभएको छ । उहाँको यही लोकप्रियता देखेरै पार्टीले उपमेयरमा अघि बढाएको हो । झन्डै दुई दशकदेखि उहाँले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको छ ।

राजनीतिसँगै सामाजिक कार्यमा पनि खनाल निकै सक्रिय हुनुहुन्छ । उहाँले नगरबासीका सुख दुःखमा सधैँ साथ दिने नेताको पहिचान बनाउनुभएको छ । एमाले वीरेन्द्रनगर नगर कमिटी अध्यक्षसमेत रहेका खनाल भन्नुहुन्छ, ‘मतदाताले विश्वास गर्नुभयो भने योजनाबद्ध विकास गर्दै वीरेन्द्रनगरको मुहार फेर्ने धोको छ ।’ पार्टीले भरोसा गरेका खनाल यसपटक नगरमा पनि मतदाताले विजयी गराउनेमा ढुक्क हुनुहुन्छ । खुल्ला किताबजस्तै खनाल मिलासिलो स्वभावका हुनुहुन्छ । उहाँको त्यही स्वभाव मतदाताले रुचाउने गरेका छन् । निर्वाचनको मिति नजिकिएसँग यतिबेला वीरेन्द्रनगरमा खनालले सजिलै चुनाव जित्ने चर्चा हुने गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका टोल–टोलको भूगोल र जनजीवनबारे राम्रै जानकारी राखेका खनाल सोहीअनुसार योजना तर्जूमा गरेर काम गर्ने सपना रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ्, ‘मतदाताको शिर ठाडो हुने गरी काम गरेर देखाउने छु । त्यसका लागि उहाँहरुले मलाई विश्वास गरेर जिम्मेवारी दिनुपर्‍यो ।’

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगरमा नेपाली कांग्रेस र (माओवादी केन्द्र)ले चुनावी तालमेल गरेका छन् । चुनावी गठबन्धनसँग एमाले भने एक्लै भिड्दैछ । नगरमा एमालेको विगतको जनाधार र पछिल्लो जनलहरले जित सुनिश्चित देखिएको नेताहरुले बताउने गरेका छन् ।

एमालेबाट मेयरको उम्मेदवार बनेकी मोहनमाया ढकाल पनि गएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मत ल्याएर उपमेरमा विजयी हुनुभएको थियो । एमाले केन्द्रीय सदस्यसमेत रहेकी ढकाल सुर्खेतको राजनीतिमा चर्चित युवा नेतृ हुनुहुन्छ । मेयर उपमेरसँगै वडा तहसम्म बलिया उम्मेदवार मैदानमा पठाएकाले वीरेन्द्रनगरमा सहजै जित हासिल गर्न सकिने एमाले नेताहरुको दाबी छ । नगरका १६ वडामध्ये २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले उपमेयरसहित नौ वटा वडा जितेको थियो ।