अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामग्राममा बुद्धजयन्तीको विशेष तयारी

रामग्राममा बुद्धजयन्तीको विशेष तयारी


काठमाडौं – विश्व शान्तिका अग्रदुत भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपमा २५६६ औँ बुद्धजयन्ती विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । यही वैशाख ३१ देखि आगामी जेठ २ गतेसम्म बुद्धको योगदानको स्मरण र रामग्रामको प्रवद्र्धन हुने गरी भव्यरुपमा बुद्धजयन्ती मनाउने तयारी गरिएको हो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनअर्थात् यसपटक जेठ २ गते बुद्धजयन्ती पर्व मनाइँदैछ । कोभिड–१९ महामारीका कारण विगत दुई वर्ष बुद्धजयन्तीमा सुनसानजस्तै बनेको रामग्राम स्तूपमा यस वर्ष विशेष उल्लासका साथ बुद्धजयन्ती मनाउन लागिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिनुभयो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा पर्दछ । उहाँका अनुसार वैशाख ३१ गते स्तूप क्षेत्रको बृहत् सरसफाइ, जेठ १ गते भिक्षुद्वारा प्रवचन र भोजनदान तथा जेठ २ गते प्रवचन, परित्राण, प्रार्थना तथा अन्य विविध कार्यक्रमका साथ मूल समारोह आयोजना गरिनेछ । साथै जेठ १ र २ गते साँझ दीपप्रज्वलन गरिनेछ ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन मूल समारोह समिति र विभिन्न उपसमितिहरु गठन गरी तयारी थालिएको नगरपालिकाले जनाएको छ । लुम्बिनी विकास कोषअन्तर्गत रहे पनि रामग्राम स्तूपमा लामो समयदेखि स्थानीयको सक्रियतामा बुद्धजयन्ती मनाइने गरिएको थियो । यसपटक रामग्राम नगरपालिका, लुम्बिनी विकास कोष र स्थानीयको संयुक्त सहकार्यमा रामग्राम स्तूपमा बुद्धजयन्ती मनाउन लागिएको हो ।

कोषको बेवास्ताका कारण रामग्राम स्तूप ओझेलमा परेकोले यहाँको प्रवद्र्धनका लागि स्थानीयकै अग्रसरतामा बुद्धजयन्ती मनाउने गरिएको २५६६ औँ बुद्धजयन्ती मूल समारोह समिति रामग्रामका संयोजक एवं रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले राससलाई बताउनुभयो ।