विराटनगर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीले आज (शनिबार) आयोजना गर्ने कार्यक्रममा सहभागी हुन मोरङ र सुनसरी आउँदै हुनुहुन्छ ।
एमालेले मोरङ र सुनसरीका ४ वटा पालिकामा चुनाव लक्षित कार्यकर्ता भेला तथा सभाको आयोजना गर्दै छ। सुनसरीको इटहरी र धरान उपमहानगरपालिका तथा मोरङको सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरपालिकामा आयोजित कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार इटहरी, धरान तथा विराटनगर हुँदै सुन्दरहरैँचामा कार्यक्रम आयोजना गरिने छ। सबै तयारी पूरा भएको र कार्यक्रममा एमालेका उम्मेदवार तथा नेता, कार्यकर्ताको उपस्थिति रहने एमालेले जनाएको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ। घरदैलो सकेर एमालेले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ। एमाले विराटनगर महानगर कमिटीका सचिव रोहित कोइरालाका अनुसार नमुना मतपत्रमार्फत सञ्चालन गरिने कार्यक्रममा निर्वाचन परिचालन कमिटीका सदस्यहरू, स्थानीय नेता कार्यकर्ता र उम्मेदवारको सहभागिता रहने छ।
प्रतिक्रिया