भक्तपुर – स्थानीय तह निर्वाचनमा भक्तपुरका चारवटा पालिकामध्ये तीनवटामा नेकपा (एमाले)को जित सुनिश्चित रहेको भक्तपुर सह–इञ्चार्ज गोविन्दप्रसाद दुलालले दाबी गर्नुभएको छ । सूर्यविनायक, मध्यपुरथिमि र चाँगुनारायणमा एमालेको जित सुनिश्चित रहेको दुलाले दाबी गर्नुभयो ।
एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका भक्तपुर सह–इन्चार्ज दुलालले सूर्यविनायक नगरपालिका–१ को घरदैलो कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । पहिलो स्थानीय तह निर्वाचन २०७४ मा एमालेले जितेका तीनवटा नगरपालिकाका थप वडाहरुसमेत एमालेले जित्ने उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘गठबन्धनसँग कुनै नीतिगत विचार, विकास निर्माणका योजना र कुशल नेतृत्व छैन, हामीसँग भएका मदनसुन्दर क्षेष्ठ, उत्तरा नेपाल, वासुदेव थापा, सुमीत्रा भट्टराई, विना बास्तोला, रमेश बुढाथोकी यहाँका लोकप्रिय उम्मेदवार हुनुहुन्छ । उहाँहरूको लोकप्रियताले पनि मतदाता लोभिएका छन् । त्यसैले यस पटकको निर्वाचनमा एमालेको जित सुनिश्चित छ ।’
निर्वाचनको मिति नजिकिँदै गर्दा भक्तपुरमा राजनीतिक गर्मामर्गी ह्वात्तै बढेको छ । विभिन्न राजनीतिक दलले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् । यसका साथै नगरसभा, वडासभा लगायतका चुनावी कार्यक्रम दैनिक हुने गरेका छन् ।
भौगोलिक दृष्टिले भक्तपुर सानो जिल्ला भएपनि कला, साहित्य, धर्म–संस्कार, संस्कृति र पौराणिक सभ्यताका दृष्टिले अथाह धनी र आन्तरिक तथा बाह्य पर्यटकको प्रचुर सम्भावना बोकेको जिल्ला हो ।
प्रतिक्रिया