अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड नातावादमा लागेको भन्दै काठमाडौं महानगरमा माओवादीका तीन वडाध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

प्रचण्ड नातावादमा लागेको भन्दै काठमाडौं महानगरमा माओवादीका तीन वडाध्यक्षका उम्मेदवार एमालेमा प्रवेश


काठमाडौं – काठमाडौं महानगरपालिकामा माओवादी केन्द्रबाट वडानम्बर २४ का वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएका राजेन्द्र श्रेष्ठ नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । उहाँसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौको जिल्ला सचिव राजेश शाक्यले टिका लगाएर स्वागत गर्नुभयो ।

पार्टी प्रवेशपछि सम्बोधन गर्दै श्रेष्ठले प्रचण्डले स्थानीय तहको निर्वाचनमा आफ्नो सन्तानलाई जिताउने बाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ‘नेकपा माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा मात्रै होइन, उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टीमा बसिरहनुको औचित्य नरहेकाले परित्याग गरेको हुँ,’ श्रेष्ठले भन्नुभयो, ‘केही दिनअघि मात्रै पनि चितवन पुगेर प्रचण्डले आफ्नो छोरीलाई विजयी नगराए देश दुर्घटनामा जाने भन्दै घीनलाग्दो शब्द प्रयोग गर्नुभयो । उहाँका त्यस्ता अभिव्यक्तिले हामीलाई त्यो पार्टीमा बसिरहन झन् असहज भयो र आज एमाले प्रवेश गर्यौँ ।’

श्रेष्ठले समकालीन राजनीतिका चर्चित व्यक्तित्व केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीमा रहेर आगामी दिनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्ने महाअभियानमा निरन्तर लाग्ने प्रण पनि व्यक्त गर्नुभयो ।

यसअघि, माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरको वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल र १५ को वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन पनि पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएको थियो ।