अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६० प्रतिशत जित्छौं : वरिष्ठ नेता पोखरेल

६० प्रतिशत जित्छौं : वरिष्ठ नेता पोखरेल


काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले देशभर ६० प्रतिशत भन्दा बढी पालिकामा जित हासिल गर्ने बताउनुभएको छ ।

काठमाडौंको टोखामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले देशभरको लहर हेर्दा ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने बताउनुभयो । अहिले देशभर एमालेको लहर चलेको बताउँदै उनले एमालेलाई विजयी गराउन सबैमा अनुरोध पनि गर्नुभयो । स्थानीय निकाय निर्वाचनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्माहालिरहेका पोखरेलले परमादेशी गठबन्धन एमालेलाई हराउन लागे पनि एमाले भने आफू जित्न लागेकोले देशैभर लहर छाएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसमा प्रवेश गर्न सुझाव दिनुभयो। ‘माओवादी केन्द्रले आफ्नो घोषणा पत्र समेत जारी गर्न आवश्यक ठानेन, माओवादीले कांग्रेसले जारी गरेको घोषणा पत्र नै आफ्नो ठानेको छ,’ उहाँको भनाइ थियो ।

पाँचदलीय गठबन्धन राजनीतिक स्थायीत्वको विरुद्धमा तथा राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको विरुद्धमा रहेको पोखरेलको भनाइ छ । आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने प्रधानमन्त्री पत्नी आरजु देउवाको अभिव्यक्तिप्रति बिमति जनाउँदै पोखरेलले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताउनुभयो । ‘सरकारी ‘बजेट तिनको घरको सम्पत्ति होइन्, विकास निमार्णका लागि बजेट पाउने सबैको अधिकार छ’ उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले टोखा नगरपालिकामा एमालेले ५ बर्षमा राम्रो काम गरेको उल्लेख गर्दै अत्याधिक मत दिएर एमालेका सबै उम्मेदवारलाई जिताउन आग्रह पनि गर्नुभयो ।

चुनावी सभामा टोखा नगरपालिकाका एमालेका मेयर पदका उम्मेदवार प्रकाश अधिकारी, उपमेयरकी उम्मेदवार ज्ञानमाया डंगोलले आफूहरुले अघि सारेका विकास निर्माण, सामाजिक विकास तथा समृद्ध टोखा निर्माण अभियानलाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै अत्यधिक मतका साथ विजयी गराउने टोखा नगरबासीलाई अनुरोध गर्नुभयो ।