काठमाडौँ — श्रीलंकामा केही महिनादेखि जारी आर्थिक संकटका बीच राजनीतिक अस्थिरता उत्पन्न भएको छ । केही दिनयता ठूला प्रदर्शनसँगै हिंसात्मक गतिविधि बढेका छन् ।
सोमबार बिहानैदेखि भएको प्रदर्शनमा झडप हुँदा कम्तीमा ३ जना मारिएको स्थानीय मिडियाले जनाएका छन् । यस क्रममा एक सांसद र एक प्रहरी अधिकृत पनि मारिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
प्रदर्शनकारीले केही मन्त्री र सांसदहरूको निवासमा पुगेर आगजनी समेत गरेका छन् । झडपको क्रममा २ सय जना घाइते भएको डेली मिररले जनाएको छ । उनीहरूको अहिले कोलम्बोस्थित कोलम्बो नेश्नल हस्पिटलमा उपचार भइरहेको छ ।
सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । तैपनि हिंसा रोकिएको छैन । मंगलबार राष्ट्रपति गोटाबाया राजापाक्षेले प्रधानमन्त्रीको राजीनामा स्वीकार गरिसकेका छन् ।
अहिले कोलम्बोसहितका सहरमा राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । र ती प्रदर्शन हिंसात्मक बन्दै गएका छन् । महिन्दा राजापाक्षे समर्थकहरूको प्रदर्शनले पछिल्लो समय उग्र रुप लिँदै गएको स्थानीय मिडियाले जनाएका छन् ।
हाल मन्त्री तथा उच्च अधिकारीहरू नै प्रदर्शनकारीको निशाना बनेका छन् । उनीहरूले नेताहरूका घर जलाउनुका साथै प्रहरीका गाडीसमेत तोडफोड गरेका छन् । केही भारतीय मिडियाका अनुसार प्रदर्शनकारीले महिन्दा राजापाक्षेको हन्बनटोटामा रहेको पुरानो घर समेत जलाइदिएका छन् । सरकारले कर्फ्यू जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।
केही महिनादेखि नै आर्थिक संकट झेल्दै आएको श्रीलंकामा पछिल्ला घटनाले गृहयुद्धको सम्भावना बढेको टिप्पणी हुन थालेको छ । हिंसात्मक प्रदर्शन अनियन्त्रित बन्दै गएपछि श्रीलंकामा गृहयुद्ध निम्तिनसक्ने आकलन गरिएको छ ।
सोमबार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएर सर्वदलीय मन्त्रिपरिषद् गठनको तयारी गरेका थिए । तर मंगलबार महिन्दाका समर्थकहरूको प्रदर्शन झन् उग्र बन्दै गयो । उनीहरूले अहिले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।
सोमबार महिन्दाको राजीनामाले संकट समाधानका लागि सहयोग पुग्ने अपेक्षा गरिए पनि एकै दिनमा महिन्दाका समर्थकहरूको उग्र प्रदर्शनका कारण अवस्था त्यस्तो नदेखिएको बताइन्छ ।





प्रतिक्रिया