अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनको मौन अवधी सुरु हुनै लाग्दा मेयरकी उम्मेद्वार गीता अधिकारीको आयो यस्तो अपिल

निर्वाचनको मौन अवधी सुरु हुनै लाग्दा मेयरकी उम्मेद्वार गीता अधिकारीको आयो यस्तो अपिल


दमक- निर्वाचन प्रचारको मौन अवधी सुरु हुनै लाग्दा नेकपा एमालेका तर्फबाट दमक नगरपालिकाकी प्रमुखकी उम्मेद्वार गीता अधिकारीले आफूलाई मतदान गर्न नगरबासीलाई अपिल गर्नुभएको छ ।
अधिकारीले एक अपिल जारी गर्दै नगरपालिकाको पूर्वाधार विकास,शिक्षा स्वास्थ्य,पारदर्शीता र नगरबासीलाई सहज सेवा प्रवाहका लागि एमालेका उम्मेद्वारलाई मतदान गर्न अपिल गर्नुभएको हो ।
अधिकारीले आफू र आफ्नो टिमलाई विजयी गराएमा दमक नगरलाई देशकै उत्कृष्ट नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।‘ दमक नगरपालिकाले देशमै उदाहरण पेस गर्नेछ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सुशासन, सार्वजनिक सेवा प्रवाह, प्रविधि प्रयोगका क्षेत्रमा पाँच वर्षलाई उपलब्धिपूर्ण बनाइनेछ ’ अधिकारीको अपिलमा भनिएको छ ।
अधिकारीले आफू पदमा रहँदा वा नरहँदा सावर्जनिक सम्पतीको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ । ‘म पदमा रहँदा या नरहँदा सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन दिने छैन । पारदर्शितामा प्रश्न उठ्न दिने छैन । निर्वाचित भएपछि राजनीतिक आस्था, विचार, धर्म, लिंग, क्षेत्रका आधारमा कसैमा भेदभाव महसुस हुन दिने छैन’ एमालेकी केन्द्रीय सदस्य समेत रहेकी अधिकारीले अपिलमा भन्नुभएको छ ‘नगरका कामहरु, खर्चहरु पारदर्शी हुनेछन् । नगर प्रमुखलाई भेट्न, गुनासो राख्न कुनै कठिनाई हुनेछैन । ’
अधिकारीले दमकमा मतदाता नामवाली भएर काम विशेषले दमक बाहिर रहनु भएका सम्पूर्ण मतदातालाई घर फर्किएर नगरको विकासका लागि योग्य प्रतिनिधी छनौट गर्न अपिल गर्नुभएको छ ।
करिब दुई हप्ता घरदैलो कार्यक्रमका नाममा मतदाताका घरघरमा पुग्दा नै आफूहरुले विजयको अनुभत गरेको अधिकराीले उल्लेख गर्नुभएको छ । ‘दमकमा चालु अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाको समन्वयात्मक भूमिका निर्वाह गर्न र नगरमा स्वरोजगार,महिला शसक्तिकरण,सफा र हरियाली नगर बनाउनका लागि एमालेका तर्फबाट मेयरमा म गीता अधिकारी र उपमेयरमा अम्बिका प्रसाद खनालको टिमलाई अत्याधिक मत दिएर जिवयी गराइदिनुहुन अनुरोध गर्दछु । ’
अधिकारीले पहिलो पटक मतदान गर्दै गरेका मतदातालाई पनि आफ्नो भविष्य हेरेर देशकै ठूलो र गतिशल पार्टीका उम्मेद्वारलाई मतदान गर्न आह्वान गर्नुभएको छ ।

अधिकारीले गरेको अपिलको पूर्ण पठा यस्तो छ :

आदरणीय दमक नगरबासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू

    यही २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको अन्तिम चरणमा हामी पुगेका छौं । यस अवसरमा दमक नगरबासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई मतदानमा सक्रियतापूर्वक सहभागी भएर नेकपा एमालेलाई अत्याधिक मतले विजयी बनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

दमक नगरपालिकामा मतदाता नामावली भएर पनि विभिन्न कामको शिलसिलामा दमक बाहिर रहनु भएका सम्पूर्ण महानुभावहरुलाई बैशाख २९ गते भित्र आफ्नो घर दमक फर्किएर मतदानमा सहभागी भइदिनुहुन म हार्दिक अनुृरोध गर्दछु ।

   स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ हो । तीन वटा सरकारमध्ये नागरिकसँग जोडिएको हाम्रो आफ्नै घर आँगनको सरकार पनि हो । दमक नगरपालिकामा मेरो नेतृत्वमा विजयी भएपछि हामीले गर्ने कामको रुपरेखा प्रतिवद्धता पत्रमार्फत सार्वजनिक गरिसकेका छौं । मेरो फेरि पनि सङ्कल्प छ– दमक नगरपालिकाले देशमै उदाहरण पेस गर्नेछ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सुशासन, सार्वजनिक सेवा प्रवाह, प्रविधि प्रयोगका क्षेत्रमा पाँच वर्षलाई उपलब्धिपूर्ण बनाइनेछ । विगत पाँच वर्ष दमक नगरपालिकाको उपमेयर भएर काम गरेको मेरो अनुभव छ ।

   कलेज प्राध्यापनको करिब तीन दशकको अनुभव, विकास निर्माण, शिक्षा, सामाजिक सेवाका क्षेत्रमा लामो संलग्नताले मैले नगरको समस्या र समाधानको उपाय राम्रोसँग बुझेकी छु । निर्णय क्षमता, सहकार्यको भावना र मतदाताको मतको सम्मान, लोकतान्त्रिक आचरण जस्ता विषयमा सम्पूर्ण नगरबासी म सँग परिचित नै हुनुहुन्छ । म पदमा रहँदा या नरहँदा सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन दिने छैन । पारदर्शितामा प्रश्न उठ्न दिने छैन । निर्वाचित भएपछि राजनीतिक आस्था, विचार, धर्म, लिंग, क्षेत्रका आधारमा कसैमा भेदभाव महसुस हुन दिने छैन । नगरका कामहरु, खर्चहरु पारदर्शी हुनेछन् । नगर प्रमुखलाई भेट्न, गुनासो राख्न कुनै कठिनाइ हुनेछैन । म नगरबासीका गुनासाहरुलाई सदैव स्वागत गर्नेछु । ति गुनासाहरुलाई सृजनात्मक रुपमा नगरपालिकाको हितमा प्रयोग गर्ने मेरो प्रतिवद्धता छ । दमकमा रहेका नेपाल चीन मैत्रीपूर्ण औद्योगिक पार्क,दमक भ्यू टावर,मदन भण्डारी रंगाशाला,एशियाकै ठूलो बुद्धको मूर्ती जस्ता राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नका लागि नगरप्रमुखको हैसियतमा म सदैव क्रियाशिल हुनेछु । नगरमै रोजगारको सिर्जना, उद्यमशीलता विकास, धार्मिक साँस्कृतिक प्रवर्द्धन, पर्यटन पूर्वाधार निर्माण, नगरका साँस्कृतिक क्षेत्रको प्रचार प्रसार, कृषि, सञ्चार लगायतका क्षेत्रलाई महत्वका साथ प्राथमिकता दिइनेछ । बृद्धबृद्धा, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई केन्द्रित गरेर कार्यक्रम ल्याइनेछ । विकास निर्माण र सेवा प्रवाहमा नगरबासी हरेक नागरिकलाई अपनत्व हुने गरी सहभागितामुलक विकास मोडल विकास गरिनेछ ।

   अन्त्यमा, चुनाव प्रचार प्रसारका क्रममा १० वटै वडामा नगरबासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूले गर्नुभएको स्वागतले हामीलाई विजय नजिक पुर्याएको महसुस भएको छ । प्रचार प्रसारमा खट्नुहुने पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आगामी ३० गते निर्वाचनमा नेकपा (एमाले)को चुनाव चिन्ह सूर्यमा मत दिई मेयरमा म गीता अधिकारी र उपमेयरमा अम्बिका प्रसाद खनालको टिमलाई विजयी गराइदिनुहुन सादर अनुरोध गर्दछु ।

धन्यवाद ।

                                                                      गीता अधिकारी
                                                                       मेयरका                 उम्मेद्वार

२०७९ वैशाख २७ दमक नगरपालिका