गोरखा – वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मतगणनाका लागि गोरखाका सबै पालिकामा मतगणना स्थल तयार गरिएको छ । एघार वटै पालिकामा सीसी क्यामेरा सहित तारजालीको व्यवस्था गरेर मतगणना स्थल तयार पारिएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले जानकारी गराएका छन् ।
गोरखा नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको हलमा हुने छ । सो ठाउँमा तारजाली लगाएर तीन वटा सीसी क्यामेरा जडान गरिएको नगरपालिकाका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताउनुभयो । जेनेरेटर र माइकको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
आरुघाट गाउँपालिकाको मतगणना वडा नम्वर ९ स्थित भिमोदय माध्यमिक विद्यालयको भवनमा हुने छ । मतगणना स्थलमा तारजाली लगाइएको र पाँच वटा सीसी क्यामेरा जडान गरिएको निर्वाचन अधिृकत श्रीधर गौतमले जानकारी दिनुभयो । एकै पटक तीन ठाउँमा मतगणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको उहाँले बताउनुभयो ।
भीमसेन थापा गाउँपालिकाको मतगणनाका लागि खान्चोकस्थित गाउँपालिकाको प्रशासकीय भवनमा स्थल निर्माण गरिएको छ । तारजाली लगाएर चार वटा सीसी क्यामेरा जडान गरिएको निर्वाचन अधिकृत खिमानन्द गौतमले बताउनुभयो । उहाँका अनुसार एकै पटक चार ठाउँमा मतगणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको छ ।





प्रतिक्रिया