अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावको दिन चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान, त्रिपाल खोज्न आयोगको निर्देशन

चुनावको दिन चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान, त्रिपाल खोज्न आयोगको निर्देशन


काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको मतदानका लागि ३० गते मौसम सफा नरहने आकलन गरेको छ । महाशाखाका अनुसार त्यस दिन दुई प्रदेशमा मेघ गर्जनसहित वर्षा हुन सक्छ भने अन्य प्रदेशमा सामान्य बदली हुन सक्छ ।
महाशाखाले स्थानीय तहको निर्वाचन २०७९ को लागि विशेष मौसम पूर्वानुमान बुलेटिन आज बिहान ६ बजे सार्वजनिक गरेको थियो । बुलेटिनअनुसार अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । हाल पश्चिम–मध्य बंगालको खाडीमा चक्रवात ‘असानी’ चलिरहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली भएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
बिहीबार अर्थात् भोलि दिउँसो प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली तथा देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश एक, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

भोलि राती प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली तथा देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रवार अर्थात् मतदान हुने दिन पर्सी दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसै दिन राति प्रदेश १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

चुनावको भोलिपल्ट शनिवार देशको प्रदेश १, बागमती प्रदेश, मधेस प्रदेश तथा गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ ।

प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई चेतावनी तथा परामर्श दिएको छ ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले निर्वाचन आयोगलाई अनुरोध गरिसकेको छ ।

मौसम पूर्वानुमान महाशाखाले माथि उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने महाशाखाले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका दिन बिहान ७ बजेदेखि मतदान सुरु हुन्छ ।

मतदान सम्पन्न नभएसम्मका लागि सबै मतदान केन्द्रमा वर्षाले अवरोध पुर्‍याउनेमा निर्वाचन आयोग सचेत रहेको आयोगले जनाएको छ ।

यसबाट जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्नका लागि सबै स्थानीय तहलाई निर्देशन दिइसकेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिनुभयो।

यसका लागि सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न आयोगले स्थानीय तहहरूलाई भनेको छ ।

उनका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत यस्तो निर्देशन दिइएको हो ।

त्यसको आवश्यक समन्वय एवम् सहजीकरणको लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई पनि निर्देशन दिइसकिएको प्रवक्ता शर्माले बताउनुभयो ।