धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका वडा नं- २ का नवनिर्वाचित वडा सदस्य ५२ वर्षीय अटल सूर्य मगरको निधन भएको छ ।
चौबिसे गाउँपालिकाको मुकाम राजारानी बजारस्थित मतगणनास्थलमा राति करिब ८ बजे मगर बसिरहेको स्थानमै बेहोस हुनुभएको थियो । उहाँलाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पुर्याए लगत्तै राति ११ बजे मृत्यु भएको चौबिसेकी निवर्तमान उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिनुभयो । मगर नेकपा एमालेबाट विजयी हुनुभएको थियो ।
वडाको मतपरिणाम अन्तिम चरणमा रहेको बेला मगर अचेत भइ कुर्सीबाट ढलेको रुचालले जानकारी दिनुभयो । उपचार गर्न लैजाँदै गर्दा मगर विजेता भएको परिणाम आएको थियो ।
अनुसन्धानका क्रममा मगरको मृत्यु शंकास्पद नरहेको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक सुवास भट्टराईले जानकारी दिए । चिकित्सकले उच्च रक्तचापका कारण हृदयघात भएको हुनसक्ने जनाएका छन् । मृतक मगर यसअघि पनि सोही वडाका वडाध्यक्ष रहेको एमाले धनकुटाका पार्टी कार्यलय सचिव नैनबहादुर विश्वकर्माले बताए।





प्रतिक्रिया