बिर्तामोड-झापाको बिर्तामोड नगरपालिकामा हिजो साँझ मतगणना स्थल छोडेर काँग्रेस नेतृत्वको गठबन्धन दलका प्रतिनिधी हिडेका छन् । शान्तीपूर्ण वातावरणमा भइरहेको मतगणनामा जब एमालेको सूर्य चिन्हका मत पत्रहरुको संख्या बढ्दै गयो गठबन्धनले यसलाई अस्विकार गर्न थाल्यो । कहिले गणना निष्पक्ष नभएको त कहिले करार कर्मचारी राखेर गणना गरिएको भनेर उनीहरुले विवाद झिक्न थाले । अन्तत मध्यरातमा उनीहरु मतगणना स्थल छोडेर हिडे ।
यो घटनालाई धेरैले २०७० सालको संविधानसभा निर्वाचनमा माओवादीले चन्द्रगढीमा मतगणना स्थल छोडेर हिडेको घटनासँग जोडेर हेरेका छन् । त्यसबेला जब मत पेटिका खोलियो तब माओवादीका मत उनीहरुको अपेक्षा अनुसार भेटिएनन् । जब जब गणनाको नतिजा सार्वजनिक गर्न थालियो तब तब माओवादी कार्यकर्ता निराश हुन थाले । ‘यो अवस्था आएपछि माओवादी साथीहरु चुनावमा धाँदली भयो,गणनामा धाँदली भयो भन्दै बाहिरिनु भएको थियो ’ त्यती बेला गणनामा बसेका काँग्रेसका एक नेता सम्झन्छन् ‘पछि त लडाकु ल्याउनु धम्की दिएर दिनैभर चन्द्रगढीमा नारा जुलुस पनि गरेका थिए ।’ दिनभरी नारा जुलुस गरेपछि साँझ फेरी निशर्त मतगणनामा उनीहरु सहभागी भएको नेताहरुले विर्सेका छैनन् । विर्तामोडमा माओवादीको एजेण्डामा लागेर काँग्रेसले पनि गणना बहिस्कार गर्नुलाई धेरैले अचम्म मानेका छन् ।
बिर्तामोडका निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेका अनुसार गणना सुचारु गर्नका लागि दलहरुबिच बैठक बसिहेको छ । बैठकले गणना थाल्ने निर्णय गरेपछि निरन्तर मतगणना गर्नेछ । ।
मतगणनामा करार कर्मचारी राखेको विषयमा गठबन्धन पक्षले विरोध जनाएको छ । शनिवार दिनभर गणना गरिए पनि साँझमा गठबन्धनले करारको विषयलाई लिएर विवाद सिर्जना गरेको हो । गठबन्धनले एमालेका प्रतिनिधि समेत धेरै भएको बताइरहेका छन् ।
बिर्तामोडका निर्वाचन अधिकृत काफ्लेले गणनामा शिक्षकलाई मात्र राख्न नमिल्ने व्यवस्था भएको जानकारी दिएका छन् । उनले मतगणनामा संघीय, प्रदेश, स्थानीय, संघ,संस्थानका कर्मचारीलाई प्राथमिकता दिने आयोेगको व्यवस्था रहेको बताए । स्थानीय तहमा धेरै कर्मचारी करार कै हुनुहुन्छ, काफ्लेले भन्नुभयो – स्थायी मात्र खोज्दै जाने हो भने मतगणना कहिले गरेर सक्नु ?
बिर्तामोडमा हालसम्मको परिणाम अनुसार मेयर, उपमेयर र वडाध्यक्षमा एमालेको अग्रता छ । वडा नं. १ को गणना भइरहदा गठबन्धनले विभिन्न विषयमा विवाद सिर्जना गरिरहेका छन् ।
भर्खरै प्राप्त जानकारी अनुसार दिउसो ३ बजे देखि मतगणना गर्न गठबन्धन घटकहरु सहमत भएका छन् । गणना कार्य वडा नं १ को निरन्तर गर्ने त्यसपछि १० वा २ को गर्न सकिने सहमती गरिएको छ ।





प्रतिक्रिया