अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२०७४ मा जितेकामध्ये कांग्रेस र एमालेले कहाँ गुमाए, कहाँ थपे ?

२०७४ मा जितेकामध्ये कांग्रेस र एमालेले कहाँ गुमाए, कहाँ थपे ?


काठमाडौँ – वैशाख ३० गते सम्पन्न निर्वाचनमा भइरहेको गणनामा अहिलेसम्म ३० पालिकाको अन्तिम परिणाम आइसकेको छ। जसमा सबैभन्दा बढी नेकपा एमालेले १३, नेपाली कांग्रेसले ९, माओवादी केन्द्रले ६ र एकीकृत समाजवादीले २ पालिका प्रमुखमा जित हात पारेका छन् ।

गत निर्वाचनमा यी ३० पालिकामध्ये नेपाली कांग्रेसले १४, एमालेले १२, माओवादीले दुई र स्वतन्त्र उम्मेदवारले दुई वटा जितेका थिए। तीमध्ये अहिलेसम्म कांग्रेसले ५ वटा पालिका गुमाएको छ भने एमालेले एउटा पालिका थपेको छ। माओवादीले पनि ४ वटा पालिका थपेको छ।

एमालेले जितेका १३ मध्ये ६ वटा पालिका मात्र २०७४ मा उक्त पार्टीले जितेका पालिकाहरू हुन्। बाँकी सात पालिका एमालेले गत चुनावमा अन्य दलले जितेकोबाट यसपटक आफ्नो पोल्टामा पार्न सफल भएको छ। एमालेले आफूले २०७४ मा जितेका मनाङको चामे र मनाङ डिस्याङ, डोल्पाको शे फोक्शुन्डो, बझाङको थलारा, तेह्रथुमको मेन्छयायेम र सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा जित कायम राखेको छ।

त्यस्तै २०७४ मा नेपाली कांग्रेसले प्रमुख जितेका पालिकाहरू मुस्ताङको थासाङ, लोमान्थाङ र बारागुङ मुक्तिक्षेत्र, बझाङको साइपाल, म्याग्दीको मालिका र नवलपुरको बौदीकालीमा यसपटक एमाले एक्लैले जितेको छ।

त्यस्तै गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जितेको मनाङको लो९घेकर पनि यसपटक एमालेले जित्यो। तर, एमालेले गत निर्वाचनमा आफूले जितेका मुस्ताङको घरपझोङ, गुल्मीको रेसुंगा, दार्चुलाको अपि हिमाल र नौगाड, डोल्पाको काइके पालिका र खोटाङको जन्तेढुंगा यसपटक गुमाएको छ।

कांग्रेसले मनाङको नार्पाभूमि र नासोँ, हुम्लाको खार्पुनाथ, डोटीको बडीकेदार, बाग्लुङको तमानखोला, डडेलधुराको गन्यापधुरा र गुल्मीको गुल्मी दरबारमा गत निर्वाचनमा प्रमुख जितेको थियो। अहिले त्यसलाई कायमै राखेको छ।

२०७४ मा एमालेले जितेकामध्ये मुस्ताङको घारप झोङ र गुल्मीको रेसुंगामा अहिले कांग्रेसले जित्यो। तर, २०७४ मा जितेका र हालसम्म परिणाम आएकामध्ये सात पालिकाको प्रमुख पद नेपाली कांग्रेसले गुमाएको छ। तीमध्ये ६ पालिका प्रमुख एमालेले र एक पालिका प्रमुख माओवादीले जितेका छन्।

माओवादीले २०७४ मा जितेको डोल्पाको जगदुल्ला र बाग्लुङको ताराखोलामा जित कायम राखेको छ। अघिल्लोपटक कांग्रेसले जितेको दैलेखको नौमुले यसपटक माओवादीले जितेको छ। अघिल्लो पटक एमालेले जितेका खोटाङको जन्तेढुंगा, दार्चुलाको अपि हिमाल र नौगाड पनि माओवादीले जितेको छ । एकीकृत समाजवादीले अघिल्लोपटक एमालेले जितेको डोल्पाको काइके र अघिल्लो पटक स्वतन्त्र उमेद्वारले जितेको डोल्पाकै छार्काताङसोङमा यसपटक सर्वसम्मत जित निकालेको छ।