अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा सत्ता गठबन्धनले धाँधली गर्‍यो : एमाले महासचिव पोखरेल

चुनावमा सत्ता गठबन्धनले धाँधली गर्‍यो : एमाले महासचिव पोखरेल

सत्ता गठबन्धनले बुथ कब्जा गर्‍यो, पुनः मतदानको माग


काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेको आरोप लगाउनु भएको हो ।

विज्ञप्तिमा निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य भएको आरोप लगाइएको छ ।

त्यस्तै, उदयपुरको त्रियुुगा नगरपालिका वडा-१२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नगरेको मतदातालाई घरघरबाट ल्याई कानून विपरीत मतदान गराउन खोज्दा प्रतिवाद भएपछि मतगणना नै नगरी रोकी राखिएको एमालेको आरोप छ । प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशासनको चरम दुरुपयोग भइरहेको एमालेको जिकिर छ ।

त्यस्तै पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मुचुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडाछारमा नांगो नाच देखाएको एमालेले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पुर्‍याउन जानेक्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारी साधनमा साथै जान रोक लगाइएको छ । कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएको समेत पाइयो ।’

एमालेले स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग समेत गरेको छ । ‘केही स्थानमा मतगणना गर्दा खसेको मत भन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने, गलत स्थानमा हस्ताक्षर गर्ने कार्य भए,’ विज्ञप्तिमा भनिएको छ ।