जुम्ला – जुम्लाका चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र वितरण गरेका हो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले नगरप्रमुख राजुसिंह कठायत, नगरउपप्रमुख रामदेवी खड्कासहित ५२ जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन् । प्रमाणपत्र ग्रहण गर्दै नव निर्वाचित नगरप्रमुख राजुसिंह कठायतले आफूले भाषणभन्दा भन्दा पनि काममा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सिंगो नगरवासीको भावनालाई बुझेर काम गर्ने बताउनु भयो ।
त्यस्तै उपप्रमुख रामदेवी खड्काले सबै मिलेर हेर्न मिल्ने सुन्दर सहर विकासको आधार तयार गर्ने प्रतिबद्धता गर्नुभयो ।
समारोहमा सहभागी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले बधाई दिँदै नगरको विकासमा ठोस काम गर्न सुझाव दिनु भयो । उहाँले भौतिक विकाससँगै सामाजिक विकासलगायत नागरिकका आधारभूत आवश्यकता पूरा गर्न जोड दिनु भयो ।
चन्दननाथ नगरपालिकामा १० वटामध्ये ५ वटा वडा नेपाली कांग्रेस, ४ वटा वडा नेकपा माओवादी केन्द्र र एक वडा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।





प्रतिक्रिया