काभ्रे – धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोक ब्याञ्जु विजयी हुनुभएको छ । एमाले काभ्रेका अध्यक्षसमेत रहनुभएका पूर्वमेयर अशोक ब्याँञ्जु पुनः बिजयी हुनुभएको हो ।
स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै ब्याञ्जु मेयरमा निर्वाचित हुनुभएको हो । ब्यान्जुले ८ हजार ३४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बस्नेतले ७ हजार ४०९ मत प्राप्त गर्नुभएको छ ।
सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीबाट दयासागर श्रेष्ठ उम्मेदवार बनेपछि नेपाली कांग्रेसका नेता बस्नेतले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । गठबन्धनका उम्मेदवार श्रेष्ठले भने जम्मा १ हजार ७८३ मत मात्रै ल्याउनु भएको छ । बस्नेतको बिद्रोह नै ब्याँञ्जुको लागि बरदान बनेको छ ।
उपमेयरमा भने नेपाली काँग्रेसका निराजन जंगमले ७ हजार ९३८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लालतारा अधिकारीले ७ हजार ७९१ मत पाउनु भएको छ ।
१३ वटा पालिका रहेको पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहजिल्ला काभ्रेमा यसपटक एमालेले बिजयी बनेको यो पहिलो पालिका हो । मगणना भइरहेको पाँचखाल नगरपालिकामा पनि एमाले उम्मेदवार नेपाली कांग्रेसभन्दा एमाले धेरै पछाडि परेका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा एमालेले काभ्रेका १३ मध्ये ७ पालिका जितेको थियो । सो निर्वाचनमा एमालेले धुलिखेलसहित पनौती, बनेपा, नमोवुद्ध नगरपालिका जितेको थियो । तर यसपटक भने काभ्रेमा एमालेको विरासत व्याञ्जुले मात्रै जोगाउनु भएको छ । वडाअध्यक्षमा भने एमालेले राम्रै बिजय हासिल गरेको छ ।





प्रतिक्रिया